बङ्गलादेशका अर्का नेतालाई पनि मृत्युदण्डको सजाय

काठमाण्डु टुडे २०७० असोज १५ गते १५:५७ मा प्रकाशित

ढाका–बङ्गलादेशका एकजना सांसदलाई उनले स्वतन्त्र बङ्गलादेशको क्रान्तिका समयमा गरेको युद्धअपराधको आरोपमा मृत्युदण्डको सजाय सुनाएको छ ।
सन् १९७१ मा तत्कालीन पाकिस्तानबाट बङ्गलादेश छुट्टिने क्रममा भएको क्रान्तिका समयमा भएको सैनिक ज्यादतिमा हजारौँ बङ्गलादेशीको ज्यान गएको थियो ।
सोही आमहत्यामा ती सांसदको पनि हात रहेको भनी बङ्गलादेशमा रहेको युद्धअपराध अदालतले मङ्गलबार सो फैसला गरेको हो । बङ्गलादेशको प्रमुख विपक्षी दलका नेता एवम् सांसद सलाउद्दिन क्वादार चौधरीलाई अदालतले मङ्गलबार सो फैसला सुनाएको छ ।
उक्त समयमा बङ्गलादेशका नागरिकमाथि भएको दमनका क्रममा चौधरीपनि नौ जनाको हत्याको दोषी देखिएका बङ्गलादेशका महान्यायाधिवक्ता महाबबी आलमले जनाएका छन् ।
उक्त आरोपमा गएको जनवरी महिनादेखि यता कम्तीमा पनि पाँच जनालाई यस्तो आदेश सुनाइएको छ । यस अदालतले मृत्युदण्ड वा जन्मकैँदको सजाय सुनाउने व्यक्तिमा चौधरी छैठौँ व्यक्ति हुन् ।
तर यी फैसलाहरुप्रति भने बङ्गलादेशको विपक्षी पार्टीले कडा विरोध गर्दै आएको छ । यस आरोपमा विपक्षी दलका नेताहरुलाई मात्र कारबाही गरिएको छ ।
यो कारबाहीका विरुद्धमा बङ्गलादेशको सबैभन्दा ठूलो मुस्लिम दल जमात ए इस्लामिकले सडक आन्दोलन गर्दै आएको छ । यस आन्दोलनमा परी कम्तीमा पनि १०० जनाको ज्यान गएको छ । सोही कारण बङ्गलादेशमा व्यापार व्यवसायमा समेत प्रभाव परिरहेको अधिकारीहरुले जनाएका छन् । रासस/एएफपी

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us