कामदारमाथि ज्यादति नभएको कतारको स्पष्टोक्ति

काठमाण्डु टुडे २०७० असोज १५ गते ९:०५ मा प्रकाशित

दोहा–कतारले त्यहाँ रहेका विदेशी कामदारहरुमाथि ज्यादति गरेको भनी हालै प्रकाशित एक अनुसन्धान प्रतिवेदनप्रति असहमति व्यक्त गरेको छ । कतारमा रहेका नेपाली कामदार तथा अन्य देशका श्रमिकहरुमाथि ज्यादति गरेको तथ्य हालै बेलायतको एक पत्रिकाले सार्वजनिक गरेको थियो ।

कतारको राष्ट्रिय मानवअधिकार आयोगले त्यस्तो कुनैपनि ज्यादति नगरिएको जनाएको छ । बेलायतको गार्जियन नामक पत्रिकाले हालै गरेको एक अनुसन्धानमा कतारमा रहेका नेपाली कामदारहरुलाई कतार सरकारले दासका रुपमा व्यवहार गरेको पाइएको छ ।

सो अनुसन्धानमा आगामी सन् २०२२ मा हुन लागेको विश्वकप फुटबलका लागि आवश्यक पूर्वाधारको निर्माणमा संलग्न नेपाली कामदारलाई त्यस्तो व्यवहार गरिएको बताइएको छ ।

उक्त आयोगका प्रमुख अलि अल मारीले मङ्गलबार गरेको एक पत्रकार सम्मेलनमा सो आरोपको खण्डन गरेका हुन । उक्त पत्रकार सम्मेलनमा उनले यस्तो कुनैपनि व्यवहार नभएको दाबी गरेका छन । उक्त पत्रिकाले गरेको अनुसन्धान कपोलकल्पित हो र उसले राखेका ती सबै तथ्याङ्कमा कुनै सत्यता छैन–उनले भने । हालैमात्र जोखिमपूर्ण काममा लगाइएको कारण दर्जनौँ कामदारको ज्यान गएको छ र उनीहरुमाथि अमानवीय व्यवहार गरिएको पनि उक्त अनुसन्धानमा जनाइएको छ ।

कतारमा रहेको नेपाली दूतावासबाट प्राप्त गरेको सूचनामा हाल कतारमा करिब तीन लाख ७० हजार नेपाली नागरिक रहेका उल्लेख गरिएको छ । विश्वकै सबैभन्दा दोस्रो ठूलो श्रम शक्ति नेपाली रहेको कतारमा आधुनिक युगकै सबैभन्दा नराम्रो रुपको दासता व्याप्त रहेको पनि सो अनुसन्धानमा देखाइएको छ ।

विश्वकप फुटबलको पूर्वाधारको निर्माणमा रहेका कामदारप्रति नै यस्ता खालका दुव्र्यवहारहरु गरिएकोले कतारलाई उक्त प्रतियोगिताको आयोजना गर्न दिन नहुने बहस पनि चलेको छ । उक्त अनुसन्धानले यसवर्ष मात्र एकसय ५१ जना नेपाली नागरिकको ज्यान गएको र ती मध्येमा १५ जना त कार्यस्थलमै मारिएका पनि बताएको छ ।

सन् २०१२ मा मात्र कतारमा दुईसय ७६ जना नेपाली नागरिकको ज्यान गएको छ । सो वर्ष ५५ जनाको कार्यस्थलमै ज्यान गएको बताइएको थियो । यसरी २० प्रतिशतभन्दा बढी नागरिक कार्यस्थलमै मारिनु सुरक्षाका हिसाबले निकै कमजोर अवस्था रहेको मानिन्छ ।

उक्त अध्ययनले यसरी नै नेपाली नागरिकको मृत्यु हुने हो भने आगामी विश्वकपभन्दा अगावै कतारमा कम्तीमा पनि चार हजार जना नेपाली कामदारको ज्यान जानसक्ने अनुमान गरेको छ । रासस/एएफपी

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us