याक र चौँरी उत्पादन कार्यक्रम सुरु

काठमाण्डु टुडे २०७० असोज १५ गते २:३७ मा प्रकाशित

OLYMPUS DIGITAL CAMERAसङ्खुवासभा, १५ असोज–हिमाली तथा उच्च पहाडी क्षेत्रका बासिन्दाको आम्दानीको स्रोत रहेको चौंरी र याकको सङ्ख्या बढाउन जिल्ला पशुसेवा कार्यालय सङ्खुवासभाले उत्पादन कार्यक्रम सुरु गरेको छ ।

उत्पादन कार्यक्रमअन्तर्गत चौँरी र याकलाई चाहिने घाँसको अभाव हुन नदिन ह्वाइट क्लोबर जातको घाँसका साथै पोसिलो जातको घाँसखेती र औषधिमूलो कार्यक्रम एकैसाथ पशु कार्यालयले सुरु गरेको हो ।

जिल्लाको हिमाली तथा उच्च पहाडी इलाकामा बसोवास गर्ने भोटे समुदायको मुख्य पेसा रहेको चौँरी र याकपालन व्यवसाय दिनानुदिन घट्ने क्रम रहेकाले स्थानीयवासीको पुख्र्यौली व्यवसायमा युवा पुस्तालाई आकर्षित गरी आत्मनिर्भर बनाउन र याक र चौँरीको सङ्ख्या जिल्लाबाट कम हुन नदिने उद्देश्यले उत्पादन कार्यक्रम सुरु गरिएको जिल्ला पुश कार्यालयका प्रमुख पुष्पबहादुर बुढाथोकीले बताए ।

कार्यालय प्रमुख बुढाथोकीका अनुसार चौँरी उत्पादनका लागि हिमाली क्षेत्रका किसानलाई एउटा याक र चौँरीको लागत मूल्यमा ५० प्रतिशत अनुदान दिइने छ । खरिद गरिएका याक चौँरीसँग नमिलाई अलग्गै पालेर गाईसँग शारीरिक सम्पर्क गराएर बच्चा जन्माउनुपर्ने र यसरी जन्मिएका चौँरी अरु चौँरीका तुलनामा स्वस्थ र बलिया हुने बताइएको छ ।

पहिलोपटक जिल्लामा सुरु भएको याक चौँरी उत्पादन कार्यक्रम सफल बनाउन जिल्ला पशुसेवा कार्यालयले हिमाली आयोजना नामक परियोजनाको सहयोगमा अलग्गै कार्यक्रमसमेत सञ्चालन गरेको छ । चौँरी र याकपालनका लागि गोठ सारिरहनुपर्ने भएकाले कार्यालयले याक चौँरीपालक कृषकलाई त्रिपालको व्यवस्थासमेत गरिदिएको छ ।

चौँरी र याक उत्पादनको कार्यक्रम पशुसेवा कार्यालयले ल्याए पनि चौँरी र याकलाई चाहिने चरण क्षेत्रको समस्या रहेको पावाखोलाका छिरिङ भोटेले बताए । पछिल्लो समय सामुदायिक वन र किपटका रुपमा ठूलाबडाले खर्क आफ्नो नाममा रोक्ने गरेकाले चौँरी र याकपालनका लागि चरण क्षेत्रको समस्या रहेको चौँरीपालकहरु बताउँछन् ।

जिल्लाका उच्च इलाका तथा हिमाली क्षेत्र पावाखोला, हटिया, मकालुलगायतका विशेषगरी भोटे समुदायको आम्दानीको मुख्य स्रोत नै चौँरी तथा याकपालन रहेको छ । उनीहरुले चौँरी तथा याकमार्फत तिब्बतबाट मालसामान ओसारपसार गर्ने गरेका छन् । भारी बोकाउनुका अलवा हिमाली क्षेत्रका बासिन्दाले चौँरी र याकको दूधबाट छुर्पीका साथै मासु र छालासमेत बिक्री गरी जीविकोपार्जन गर्दै आएका छन् ।

जिल्लाको हिमाली क्षेत्रका २०० भन्दा बढी चौँरी र याकपालक कृषकहरु चरण क्षेत्रको अभाव, आन्तरिक तथा बाह्य परजीवीको सङ्क्रमण, चौँरी प्रजननमा हाडनाताको समस्या, गोठ सारिरहनुपर्ने समस्या, युवापुस्तामा याक र चौँरीपालनभन्दा वैदेशिक रोजगारीको मोहका साथै पशुसेवा कार्यालय र औषधि उपचारमा चेतना र ज्ञानको अभावका कारण पाँच वर्षअघिसम्म आठ हजारभन्दा बढी सङ्ख्यामा रहेका याक र चौँरीको सङ्ख्या घटेर अहिले चार हजारको हाराहारीमा आइपुगेको पशुसेवा कार्यालयको तथ्याङ्कमा उल्लेख छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us