अमेरिकी विमान आक्रमणको पाकिस्तानद्वारा भत्र्सना

काठमाण्डु टुडे २०७० कार्तिक १४ गते १३:०० मा प्रकाशित

इस्लामावाद, १४ कात्तिक– पाकिस्तान सरकारले बिहीबार अमेरिकी चालकरहित विमान आक्रमणको कडा शब्दमा भत्र्सना गरेको छ । बिहीबार बिहान सबेरै उत्तरी वजिरिस्तानको आदिवासी इलाका अमेरिकी चालकरहित विमान आक्रमणमा कम्तीमा तीन व्यक्तिको मृत्युपछि सो भत्र्सना गरिएको समाचारमा जनाइएको छ ।

उत्तरी वजिरिस्तानको मध्य भागमा पर्ने मिरानसाह सहरमा विहिबार बिहान सबेरै चालकरहित विमानवाट क्षेप्यास्त्र आक्रमण भएको सुरक्षा अधिकारीहरू र स्थानीय बासिन्दाले बताएका छन् । मिरानसाहमा भएको यस अमेरिकी चालकरहित आक्रमणको पाकिस्तानका विदेशमन्त्रीलगायत सरकारले कडा शब्दमा भत्र्सना गरेको हो ।

अमेरिका र पाकिस्तानबीच अमेरिकी चालकरहित विमान आक्रमणको विषयलाई लिएर बारम्बार मनमुटाव भएको र पाकिस्तान सरकारले अमेरिकालाई चालकरहित विमान आक्रमण रोक्न आग्रह पनि गर्दै आएको छ । यस्ता आक्रमणहरूमा निर्दोष नागरिकको ज्यान जाने गरेको पाकिस्तानले बताउँदै आएको जनाइएको छ । तर अमेरिकाले भने आतङ्ककारीलाई कारबाही गर्ने एक उत्तम उपायको रुपमा चालकरहित विमान आक्रमण रहेको बताउँदै आएको छ ।

हिजो मात्र पाकिस्तानमा सन् २००८ देखि हालसम्म ३१७ वटा अमेरिकी चालकरहित विमान आक्रमण भएको एक पाकिस्तानी सांसदले जानकारी दिएका थिए । सो आक्रमणहरूमा दुई हजार २२७ व्यक्तिको ज्यान गएको पनि उनले प्रष्ट पारेका थिए । सांसद तथा आन्तरिक मामिलामन्त्री चौधरी निसार अलि खानले संसदको माथिल्लो सदनलाई ६७ जना सर्वसाधारणसहित दुईहजार २२७ व्यक्तिको सो आक्रमणमा ज्यान गएको जानकारी दिएको समाचारमा उल्लेख छ ।

सो आक्रमणमा दुई हजार १६० जना आतङ्ककारीको मृत्यु भएको खानले बताएका थिए । उत्तरी वाजिरिस्तानको आदिवासी क्षेत्रमा एकै परिवारका सात व्यक्तिको हत्या भएको एक दिन पछाडि उक्त खानको सो विज्ञप्ति आएको उल्लेख छ । वासिङ्टनस्थित अमेरिकी काँग्रेसमा पनि चालकरहित विमान आक्रमणबाट पाकिस्तानी जनतालाई पर्ने प्रभावको विषयमा छलफल भएको जनाइएको छ । रासस/सिन्ह्वा

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us