
भक्तपुर– भक्तपुरस्थित मानव अङ्ग प्रत्यारोपण केन्द्रले मुलुकमै पहिलो पटक टेलिस्कोप प्रविधिद्वारा सहज तरिकाले मिर्गौला दाताको शल्यक्रिया गर्न सुरु गरेको छ । विदेशमा यसअघि नै यो प्रविधि प्रयोगमा आएपनि नेपालमा भने केन्द्रले यो प्रविधिमार्फत शल्यक्रिया सुरु गरेको हो ।
विगतमा मिर्गौला दान गर्ने व्यक्तिको मिर्गौला झिक्दा शरीरको धेरै भाग चिरेर मात्रै मिर्गौला निकाल्ने गरिन्थ्यो भने यो प्रविधि सुरु भएपछि मिर्गौला निकाल्न जत्रो प्वाल चाहिन्छ, त्यति मात्रै चिरिने भएको केन्द्रका प्रमुख डा पुकारचन्द्र श्रेष्ठले जानकारी दिए । यो प्रविधिका कारण मिर्गौला दान गर्ने व्यक्तिले विगतको जस्तो पीडा भोग्नु नपर्ने, मिर्गौला निकाल्न सहज हुने र घाउ पनि छिटो निको हुने भएको छ ।
डा श्रेष्ठले भने, ‘मिर्गौला निकाल्न विगतमा जस्तो धेरै चिर्नु पर्दैन, अब जत्रो प्वाल चाहिन्छ त्यति मात्रै काटिन्छ, विगतमा मिर्गौला दान गर्ने व्यक्ति शल्यक्रिया पछि पनि एक सातासम्म अस्पताल भर्ना हुनुपथ्र्यो भने टेलिस्कोप प्रविधिबाट मिर्गौला दाताको शल्यक्रिया गर्दा दुईदेखि तीन दिनमा घर फर्काउन सकिन्छ ।’
ठूलो घाउ बनाउँदा दुखाइ बढी हुने, अस्पतालमा धेरै समयसम्म राख्नुपर्ने, ठूलो घाउमा सङ्क्रमणको जोखिम हुने र घाउ निको भएर काममा फर्कन पनि धेरै समय लाग्ने गरेकामा अब दुखाइमा कमी आउने, जटिलता कम भई बिरामी चाँडै घर फर्कन सक्नेछन् । नयाँ प्रविधिबाट उपचार गर्न नेपालमा दक्ष जनशक्तिको अभाव भएपछि केन्द्रले चेकोस्लाभियाका दुई विशेषज्ञ चिकित्सक स्वंयसेवकको रुपमा ल्याएको छ । कात्तिक ६ गते नेपाल आएका उनीहरुले ७ गते देखि यो प्रविधिबाट उपचार सुरु गरेको डा. श्रेष्ठले बताए ।
अहिले नै १५ जना यो प्रविधिबाट उपचार गर्ने क्रममा रहेको बताउँदै उहाँले तत्काल दुई साताका लागि नेपाल आएका उक्त विशेषज्ञ टोलीले १० देखि १२ जनाको उपचार गर्न भ्याउने भएका छन् । नयाँ प्रविधिबाट मिर्गौला निकाल्दा यसअघि लिँदै आएको रकमभन्दा केही बढी खर्च हुने श्रेष्ठको भनाइ छ । केन्द्र सञ्चालन भएयता अहिलेसम्म २० जनाको मिर्गौला प्रत्यारोपण भइसकेको छ । केन्द्रमा बढीमा चार लाख रुपैयाँमा मिर्गौला प्रत्यारोपण हुने गरेको छ । रासस