वायु प्रदूषणबाट बर्सेनि १५ लाख जनाले ज्यान गुमाउँछन

काठमाण्डु टुडे २०७० कार्तिक ११ गते ७:५६ मा प्रकाशित

काठमाण्डु–सवारी साधनबाट उत्पन्न हुने वायु प्रदूषणका कारण विश्वभर बर्सेनि १५ लाख सर्वसाधारणको मृत्यु हुने गरेको विश्व स्वास्थ्य सङ्गठनको पछिल्लो प्रतिवेदनले देखाएको छ ।
सवारी दुर्घटनामा भन्दा पेट्रोलियम पदार्थबाट सञ्चालन हुने सवारी साधनले उत्सर्जन गर्ने धुँवाका कारण वायुमण्डल प्रदूषित भई मानव स्वास्थ्यमा प्रतिकूल असर पर्नाले उक्त सङ्ख्यामा मानिसको ज्यान जाने गरेको प्रतिवेदनको निष्कर्ष छ ।
भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयले सोमबार आयोजना गरेको ‘सहरी यातायात व्यवस्थापन’ विषयक कार्यक्रममा प्रस्तुत उक्त तथ्याङ्प्रति सबै नेपाली गम्भीर हुनुपर्ने र सम्बद्ध सरकारी निकाय एवम् सवारी साधनका आयातकर्ताबीच समन्वयको अपरिहार्यतामा जोड दिइएको छ ।
साइकल र स्वच्छ ऊर्जाबाट चल्ने सवारी साधनको अधिक प्रयोग र धुँवा फ्याक्ने वाहनहरूलाई क्रमशः विस्थापित गर्न  तथा सर्वसाधारणलाई त्यसप्रति जागरुक गराउने उद्देश्यले आयोजित उक्त कार्यक्रमको उद्घाटन गर्दै सो मन्त्रालयका सचिव तुलसीप्रसाद सिटौलाले जनस्वास्थ्यमा असर गर्ने वाहनहरूको आयात घटाउने नीति आवश्यक भएको बताए ।
स्वास्थ्य र वातावरणका लागि साइकल र पैदल यात्रा अति महत्वपूर्ण हुने भन्दै उनले विस्तारित चक्रपथमा त्यस्तो व्यवस्था हुने जानकारी दिए । सार्वजनिक यातायात प्रणालीलाई सहज बनाउन साझा यातायातलाई थप बस र ‘रुट’ बढाउन आग्रह गरिएको पनि उनले बताए ।
काठमाण्डु उपत्यका विकास प्राधिकरणका अध्यक्ष योगेश्वर पराजुलीले सहरका मुख्य क्षेत्र र व्यापारिक केन्द्रका सडकमा सवारी साधन प्रतिबन्ध गर्नुपर्नेमा जोड दिए ।
सडक विभागका महानिर्देशक सुदर्शन ढकालले सहरी यातायातसम्बन्धी ठोस नीति बनाउनुपर्छ भन्दै सवारी साधन आयातकर्तासँग नीति निर्माण गुर्नअघि व्यापक बहस हुनुपर्ने विचार व्यक्त गरे ।
कार्यक्रममा दिइएको जानकारीअनुसार बर्सेनि १५ प्रतिशतले सडकमा सवारी साधन थपिने गरेका छन् जुन चीनको भन्दा बढी हो । वार्षिक ३.५ प्रतिशत कुल गार्हस्थ्य उत्पादन भएको मुलुकका निम्ति सवारी साधनको चाप बढ्नु चिन्ताको विषय हो । राजधानी उपत्यकालाई बस्न लायक सहरका रुपमा विकास गर्नुपर्ने र पेट्रोलले चल्ने सवारीसाधन कटौती हुनुपर्ने कार्यक्रमका सहभागीको माग छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us