
काठमाण्डु–नयाँ तथा साना धेरैजसो राजनीतिक दलले राष्ट्रपति वा प्रधानमन्त्री जोसुकै भए पनि जनताबाट प्रत्यक्ष निर्वाचित हुने पदाधिकारीमा नै कार्यकारी अधिकार निहित रहनु पर्ने व्यवस्थासहितको अवधारणा अघि सारेका छन् ।
आगामी संविधानसभाको निर्वाचनका सन्दर्भमा नयाँ तथा साना दलले तयार गरेको चुनावी घोषणापत्रमा जनताबाट सिधै निर्वाचित कार्यकारीको व्यवस्था गरेर मुलुकलाई राजनीतिक अन्यौलबाट निकास दिनु जरुरी देखिएको उल्लेख गरिएको छ ।
यसैबीच तराई पहाड हिमाल समाज पार्टीले प्रत्यक्षमा आठ र समानुपातिकमा ५५ उम्मेदवारले आगामी निर्वाचनमा जनतासँग कार्यकारी राष्ट्रपतिका पक्षमा पार्टीले भोट माग्ने अध्यक्ष शिवकुमार तामाङले बताए ।
उता शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेतले अधिकार विकेन्द्रितसहितको हिन्दु राज्य अखण्ड नेपाल र कार्यकारी राजसंस्थाको पक्षमा ९० प्रत्यक्ष र ३३५ समानुपातिक उम्मेदवारमार्फत निर्वाचनमा जनतासँग मत माग्ने प्रतिक्रिया दिए ।
राष्ट्रवादी एकता पार्टीले प्रत्यक्षमा ११ महिलासहित १७ र समानुपातिकमा ६४ उम्मेदवार खडा गरी हिन्दु राष्ट्र र बहुदलीय प्रजातन्त्रको पक्षमा जनतासँग अनुरोध गर्ने अध्यक्ष उमा श्रेष्ठले बताइन ।
तामाङ सालिन राष्ट्रिय जन एकता पार्टीका अध्यक्ष सिङमान तामाङले पहिचानसहितको सङ्घीयता, जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिका लागि प्रत्यक्षमा दुई र समानुपातिकमा ४३ जना आफ्ना उम्मेदवारले भोट माग्ने बताए ।
बहुजन समाज पार्टी नेपालले प्रत्यक्षमा पाँच र समानुपातिकमा ४४ जना उम्मेदवारले कार्यकारी प्रधानमन्त्री र सङ्घीयताको लागि प्रस्ताव गरिएका ११ प्रदेशको पक्षमा जनतासँग अनुरोध गर्ने जानकारी दियो ।
ॐ सेना नेपालका अध्यक्ष धनबहादुर कुवँरले सङ्घीयता, धर्मनिरपेक्ष र जातीय राज्यको पक्षमा आफ्नो पार्टी नरहेको हुँदा जनताबाट निर्वाचित कार्यकारी राष्ट्रपति र वर्गीय गणतान्त्रिक हिन्दु राज्यका लागि जनताबीच पुग्ने बताए ।
नेपाल मधेसी जनता दल समाजवादीका अध्यक्ष शेख अब्दुल सलामले जातीय पहिचानसहितको सङ्घीयता, कार्यकारी राष्ट्रपतिका लागि भोट माग्न प्रत्यक्षमा दुईसहित समानुपातिकमा ४४ उम्मेदवार निर्वाचनको मैदानमा उत्रिएको जानकारी दिए ।
जनता दल नेपालले अखण्ड हिन्दु राज्य, पूर्ण लोकतान्त्रिक संविधान, कार्यकारी राष्ट्राध्यक्ष हुनुपर्छ भन्ने मान्यतालाई अघि सारेर यो नारालाई अनुमोदन गराउन प्रत्यक्षमा नौ र समानुपातिक ४६ उम्मेदवारलाई जनतामाझ पठाइएको अध्यक्ष रामकुमार ओझाले बताए ।
नेपाल समाजवादी पार्टी लोहियावादीका अध्यक्ष विमलप्रसाद अरगडिया यादवले कार्यकारी राष्ट्रपति, हिमाल, पहाड र तराईको मिश्रण भएको सङ्घीयताका लागि समानुपातिकका ४५ र प्रत्यक्ष निर्वाचन प्रणालीका उम्मेदवारले जनतासँग मत माग्ने बताए ।
नेपाल जनभावना पार्टीले एक प्रत्यक्षसहित ४२ जना समानुपातिकका लागि उम्मेदवार खडा गरेर जातीय पहिचान होइन, भौगोलिक, सामथ्र्य र जनसङ्ख्याका आधारमा १५ प्रदेश कायम गरी प्रत्यक्ष राष्ट्रपतिको व्यवस्थाका साथ सङ्घीयतामा जानुपर्छ भन्ने मान्यता अघि बढाइएको अध्यक्ष सूर्यबहादुर खड्काले जानकारी दिए ।
लिग नेपाल शान्ति एकता पार्टीले प्रत्यक्षमा २० सहित ९० समानुपातिकमा उम्मेदवार बनाएर अखण्ड नेपाल कायम राख्नका लागि अहिलेका पाँच विकास क्षेत्रलाई नै सङ्घीयताको ढाँचामा लगिनुपर्ने आवश्यकतालाई बुझाउन उम्मेदवारलाई जनताबीच पठाइएको अध्यक्ष घनेन्द्रबहादुर बस्नेतले बताए ।
श्रमिक जनता पार्टी–नेपालका अध्यक्ष रेशमराज न्यौपानेले जनमतका आधारमा सङ्घीयताको विषयलाई छिनोफानो गर्नुपर्ने, कार्यकारी प्रधानमन्त्री र सवैधानिक राष्ट्रपतिको व्यवस्था आगामी संविधानमा हुनुपर्ने अवधारणासहित २२ निर्वाचन क्षेत्रमा प्रत्यक्ष निर्वाचन प्रणालीमा र समानुपातिकमा १७१ उम्मेदवारले निर्वाचनमा प्रतिस्पर्धा गर्नेछन् भने ।
नेपाल युवा किसान पार्टीले पाँच प्रदेश रहने गरी सङ्घीयतासम्बन्धी प्रस्तुत गरिएको अवधारणालाई जनताबाट अनुमोदन गर्न प्रत्यक्षमा ५२ र समानुपातिकमा ४५ उम्मेदवारले निर्वाचनमा आफ्नो पक्षमा मत माग्ने अध्यक्ष सञ्जयकुमार मिश्रले जानकारी दिए । रासस