पश्चिमाले तिब्बती शरणार्थीका अगुवा भेटेपछि तिब्बतका उच्च अधिकारी काठमाण्डुमा

काठमाण्डु टुडे २०७० कार्तिक ९ गते १४:०७ मा प्रकाशित

काठमाण्डु–निर्वाचन पहिलेको अवस्था पर्यवेक्षण गर्न आएका पश्चिमा पर्यवेक्षकले गोप्य रुपमा तिब्बती शरणार्थीका अगुवालाई भेटेको थाहा पाएपछि चीनले तिब्बतका उच्च अधिकारी र सुरक्षाअधिकारीसहितको अर्को टोली काठमाण्डु पठाएको छ ।
चीनको स्वशासित क्षेत्र तिब्बतको बिदेश मामिलाका महानिर्देशक चु चिन्हुवाको नेतृत्वमा आएको प्रतिनिधिमण्डल सात दिनसम्म नेपालमा रहनेछ । उनीहरुको चिनिया दुतावासद्धारा शुक्रवार आयोजित रात्रीभोजमा नेपालका राजनीतिक दलका दोस्रो तहका नेताहरु सहभागी थिए । नेपालमा १५ हिमाली जिल्लामा गर्दै आएको सहयोग नविकरण गर्न आएको टोलीले बिहिवार परराष्ट्रसचिव अर्जुनबहादुर थापा र संघीय मामिला तथा स्थानीय बिकास मन्त्रालयका सचिव शान्तबहादुर श्रेष्ठसँग छुट्टा छुट्टै भेटवार्ता गरेको छ । तिब्बतसँग सीमा जोडिएका ताप्लेजुङ,संखुवासभा,सोलुखुम्बु,दोलखा,धादिङ,गोरखा,रसुवा,सिन्धुपाल्चोक,मनाङ,मुगु,मुस्ताङ,डोल्पा,हुम्ला,बझाङ,दार्चुलामा चीनले गर्दै आएको सहयोग बढाउन चाहेको हो ।

नेपालको क्वारेन्टाइनलाई मान्यता दिन चीन सहमत
नेपालमा जारी हुने कृषि र पशु क्वारेन्टाइन प्रमाणपत्रलाई तिब्बतमा मान्यता दिन चिनिया पक्षले पहल गर्ने सहमति जनाएको छ । नेपाल र चीनका भन्सार अधिकारीको शुक्रवार सकिएको २६ औ बैठकमा त्यस्तो सहमति भएको हो । दुइ पक्ष वीच भएको १४ बुँदे सहमतिमा सिन्धुपाल्चोकको तातोपानी नाकाबाट हुँदै आएको नेपाल चीन व्यापारलाई बिस्तार गर्न रसुवाको केरुङ नाकालाई व्यवस्थित रुपमा सञ्चालनमा ल्याउने सहमति पनि उल्लेख छ । काभ्रेको धुलीखेलमा मंगलबार शुरु भएको बैठक शुक्रवार काठमाण्डुमा सकिएको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us