
मुम्बई, ८ कात्तिक–भारतको मुम्बई सहरकी एक १७ वर्षकी युवतीले आफ्ना आमाबुबाले फेसबुक हेर्न नदिएको निहुँमा आत्महत्या गरेकी छिन् ।
उनलाई उनका आमाबुबाले फेसबुक हेर्न नदिएपछि सोही झोँकमा आफ्नो कोठामा झुण्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ ।
क्याम्पस पढ्ने ऐश्वर्या दाहिवाल नामकी ती युवतीलाई फेसबुक नहेर्न र धेरै समयसम्म च्याटिङ्मा नबस्न बारम्बार उनका आमाबुबाले दबाब दिँदै आएका थिए ।
मुम्बईको परभानी सहरकी ती युवतीले यसअघि पनि फेसबुक हेर्न पाउनुपर्ने मागगर्दै घरमा झगडा एवम् जिद्धी गर्ने गरेको बताइएको थियो ।
ती युवतीले गत बुधबार राति आत्महत्या गरेकी थिइन् । त्यसै साँझ आमाबुबासँग उनले फेसबुक हेर्न नपाएकोमा गुनासो र झगडा गरेको प्रहरीले अनुसन्धानबाट पत्ता लागेको बताएको छ ।
सो गुनासोपछि पनि उनले आफूलाई फेसबुक हेर्न नदिए राम्रो नहुने भन्दै कोठाको चुक्कुल लगाएर सुतेकी थिइन् । त्यसैरात उनले आत्महत्या गरेको र भोलिपल्ट बिहानमात्र अबेरसम्म उनी नउठेपछि कोठा फोडेर हेर्दा झुण्डिएको अवस्थामा पाइएको बताइएको छ ।
उनका बुबा आमाले उनलाई सामाजिक सञ्जाल वा इन्टरनेटमा धेरै समय नभुल्न र आफ्नो अध्ययनमा ध्यान दिन बारम्बार दबाब दिने गरेको छिमेकीहरुले जनाएका छन् ।
उनले हत्याको कारणका बारेमा मृत्युपत्र (सुइसाइड नोट) लेखेकी र त्यसमा आफूले फेसबुकलगायतका सामाजिक सञ्जालको प्रयोग गर्न नपाएकोमा आफूले आत्महत्या गरेको उल्लेख गरेकी छिन् ।
भारतमा हालैका वर्षहरुमा यस्तो उमेरका युवायुवतीले आत्महत्या गर्ने प्रवृत्तिमा निकै वृद्धि भइरहेको छ । त्यसको कारण विशेषगरी मायाजालमा फस्ने र मनोवैज्ञानिक कारणहरु रहेका हुन्छन् ।
भारतमा इन्टरनेटका प्रयोगकर्ताको सङ्ख्या प्रतिदिन बढ्दो मात्रामा रहेको छ । अहिलेको तथ्याङ्कअनुसार पनि त्यहाँ २० करोडभन्दा बढी व्यक्तिले इन्टरनेटको प्रयोग गर्ने गरेका छन् ।
हालै गरिएको एक सर्वेक्षणअनुसार भारतको विद्यालय तहका करिब ७५ प्रतिशत बालबालिकाले आफ्नो मोबाईलबाटै फेसबुक हेर्ने गर्दछन् । रासस/एएफपी