सार्क गरिबी निवारण गोष्ठी १६ असोजमा

काठमाण्डु टुडे २०७० असोज १४ गते १७:०१ मा प्रकाशित

काठमाण्डु, १४ असोज–दक्षिण एसियाली राष्ट्रका जनताको जीवनस्तर उकास्न र गरिबी निवारण गर्न भइरहेका प्रयासबारे छलफल गर्न असोज १६ गतेदेखि काठमाण्डुमा दुईदिने गोष्ठी आयोजना गर्न लागिएको छ ।
सो गोष्ठीमा खाद्य सुरक्षाका चुनौती, लघुवित्तको प्रयोग, सार्क हस्तकला प्रवद्र्धन केन्द्र, समावेशी आर्थिक वृद्धि, महिला सशक्तीकरण, परिवार नियोजन, स्थानीय तहको आत्मनिर्भरता लगायतका विषयमा सञ्चालन गरिएका परियोजनाबारे आ–आफ्नो देशका अनुभव आदानप्रदान र छलफल हुने दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन(सार्क)द्वारा सोमबार काठमाण्डुमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।
सार्क राष्ट्रका आठवटै देशका सरकारी र सामुदायिक क्षेत्रमा कार्यरत उपभोक्ता समूहका प्रतिनिधिको सहभागी रहने सो गोष्ठीमा सहस्राब्दी विकास लक्ष्य पूरा गर्न अपनाउनुपर्ने रणनीति र परियोजनाहरूको सफल कार्यान्वयनका लागि लगानी र क्षमता अभिवृद्धिमा जुटाइनुपर्ने क्षेत्रीय सहयोगबारे विचारविमर्श हुने सार्कका निर्देशक धनबहादुर ओलीले बताए । उनका अनुसार गोष्ठीमा महिला उद्यमशीलता, थारु घरबास (होमस्टे)लगायतका चार नेपाली परियोजनाबारे पनि छलफल हुनेछ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us