
ललितपुर–हिमाल चढ्ने पर्वतारोहीलाई लेक लाग्नु धुमपान गर्ने खराब अम्मल र नियमित व्यायामको बानी नहुनु प्रमुख कारण भएको विज्ञहरुले बताएका छन् ।
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानद्धारा ललितपुरमा आयोजित छलफल कार्यक्रममा मलिकुलर जैविक अध्ययन संस्थान इटालीका प्रोफेसर डा पाओलो सेरेटेलीले हालैको अनुसन्धानबाट अरूको तुलनामा धुमपान गर्ने खराब अम्मल र नियमित व्यायामको बानी नभएका ९३ प्रतिशतलाई हिमाल चढ्दा लेक लाग्ने गरेको पाइएको जानकारी दिए ।
धुँवा बढी हुने भान्छामा काम गर्ने महिलाले सुधारिएको चुल्हो प्रयोग गरेकालाई यो समस्या नआउने सन् १९५३ देखि सन् २०१२ सम्म ६० वर्ष गरेको अनुसन्धानबाट पुष्टि भएको उनले बताए । छलफल कार्यक्रममा इटालीको फेरार विश्वविद्यालयको जैविक खेल अध्ययन केन्द्रका श्वासप्रश्वास रोग निर्देशक प्रोफेसर अन्नालिसा कोगोले हिमाल चढ्ने मात्र नभई उच्च हिमालका स्थानीय बासिन्दाको स्वास्थ्यका विषयमा पनि गम्भीरतापूर्वक सोच्नुपर्ने औँल्याए ।
थोरै समयका लागि हिमाल चढ्न जानेले प्रविधिको प्रयोगबाट जोखिम कम गर्ने उपाय निकाले पनि उच्च हिमाली क्षेत्रका बासिन्दाका लागि कसैले ध्यान पु¥याउन नसकेको उनले बताए ।
प्रोफेसर कोगोले सन् १९६३–१९६८ सम्मको पाँच वर्षमा आठ हजारभन्दा बढी उचाइका १७ वटा हिमाल चढेकामध्ये सबैभन्दा बढी लेक लागेर १६३ जनाको ज्यान गएको तथ्याङ्क पेश गरिन । नेपालका लागि इटाली राजदूत डेनियल म्यान्सिनीले नेपालको पर्यटकीय प्रवद्र्धन गर्न स्वस्थ जीवनको अभ्यासमा हिमाली क्षेत्रमा विशेष कार्यक्रमको आवश्यकता रहेको बताए ।
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठानका उपकुलपति प्राध्यापक डा सुरेन्द्रराज काफ्ले, सचिव प्रकाशचन्द्र अधिकारी, योजना तथा अनुगमन महाशाखाका प्रमुख चिरञ्जीवी रेग्मीले पनि उच्च हिमालमा लेक लाग्ने समस्या र समाधानका लागि सहयोग समन्वय आवश्यक रहेको बताए । रासस