सिरियालाई रासायनिक हतियार मुक्त बनाउने प्रस्ताव सुरक्षापरिषदमा पारित

काठमाण्डु टुडे २०७० असोज १२ गते ३:३५ मा प्रकाशित

न्युयोर्क–न्युयोर्क–संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदले सिरियालाई रासायनिक हतियार मुक्त बनाउने बाध्यकारी प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ । अमेरिका र रुसले यसअघि नै सहमति जनाएको प्रस्ताव परिषदमा भएको मतदानमा सर्वसम्मतिले पारीत भएको होे । सन २०११ मा बिद्रोह प्रारम्भ भएयता सिरियाका वारेमा राष्ट्रसंघीय सुरक्षा परिषदले पारित गरेको यो पहिलो बाध्यकारी कानुनी प्रस्ताव हो ।

अन्तर्राष्ट्रिय रसायन निगरानी समूहले सिरियाको शस्त्र भण्डार सन् २०१४ को मध्यसम्ममा नष्ट गर्ने योजनामा सहमति जनाए लगत्तै सुरक्षा परिषदमा सिरिया सम्बन्धि प्रस्तावमा मतदान भएको थियो । यो सहमतिले सिरियाबारे राष्ट्रसंघमा देखिएको साढे दुई वर्ष लामो गतिरोध अन्त्य गरेको छ । सिरिया सम्बन्धी नयाँ शान्ति वार्ता आगामी नोभेम्बरमा हुने कुटनीतिज्ञहरुले बताएका छन ।
सहमति पछि राष्ट्रसंघका महासचिव बान की मूनले परिषदको निर्णय ऐतिहासिक भएको प्रतिक्रिया दिएका छन । बानले प्रस्तावलाई ईमानदारीपूर्वक र शिघ्र कार्यान्वयनमा लैजान सिरिया सरकारलाई आग्रह गरेका छन । सुरक्षा परिषदले पारित गरेको प्रस्तावमा सिरिया सरकारले हतियारको भण्डारलाई आफ्नो नियन्त्रणबाट मुक्त गर्न र रासायनिक हतियार विज्ञलाई निर्वाध पहुँच दिन माग गरिएको छ । प्रस्तावमा राष्ट्रसंघीय वडा च्याप्टर सेभेनको सन्दर्भ उठाउदै भनिएको छ ‘जसले सैनिक बल प्रयोगलाई अनुमति दिन्छ तर त्यसका लागि अनुमोदन हासिल गर्न अर्को मस्यौदा प्रस्ताव जरुरी पर्नेछ ।’
अमेरिकी विदेशमन्त्री जन केरीका अनुसार पारित प्रस्तावले पहिलो पटक कुनै पनि मुलुकको समग्र रासायनिक अस्त्र क्षमतालाई निर्मुल पार्नेछ । उनले भनेका छन ‘सुरक्षा परिषदले प्रस्ताव पारित गरी युद्धको खराव भन्दा खराव अस्त्रलाई पनि कुटनीतिले शान्तिपूर्ण तरिकाले निष्क्रिय तुल्याउन सक्छ भन्ने देखाएको छ ।’
रुसी विदेशमन्त्री सेर्गेइ लाभ्रोभले पनि सुरक्षा परिषदको कदमलाई प्रशंसा गरेका छन । सिरियाका वारेमा चालिएको अन्तराष्ट्रिय कदमको सफलता दमास्कसको काँधमा मात्र आधारित नरहेको बताउदै उनले त्यसका लागि सिरियाली बिपक्षीले पनि सघाउनु पर्ने स्पष्ट पारेका छन ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us