‘तापमान वृद्धिकालागि मानवीय गतिविध‌ि जिम्मेवार’

काठमाण्डु टुडे २०७० भदौ २२ गते ६:१० मा प्रकाशित

संयुक्त राष्ट्र संघका वैज्ञानिकहरुले भनेका छन्, मानवीय कारणले नै विश्वव्यापी तापमान बढदै गएको हो भन्ने कुरामा यसअघिभन्दा उनीहरु अरु बढी विश्वस्त भएका छन्।

 

आफ्नो नयाँ प्रतिवेदनमा जलवायु परिवर्तनसंबन्धी अन्तरसरकारी प्यानेल (आइपिसिसि) ले भनेको छ, सन् १९५० यता विश्व तापमानमा भएको वृद्धि गएको एकहजार वर्षमै अभूतपूर्व छ।

उसले भनेको छ, “यसको मुख्य कारण मानव गतिविधि नै हो भन्ने कुरामा उ पन्चान्नब्बे प्रतिशत विश्वस्त छ।”

स्वीडेनमा भेला भएका वैज्ञानिकहरुले एक्काइसौं शताब्दीको अन्त्यसम्ममा समुद्री सतह बयासी सेन्टिमिटरसम्मले बढनसक्ने चेतावनी दिएका छन्।

उनीहरुले भने, “गएको आठ लाख वर्षमा नदेखिएको स्तरमा हरितगृह ग्याँस उत्सर्जनमा भएको वृद्धिका कारण तापमान बढेको हो।”

तापमान

वैज्ञानिकहरुले गएको पन्ध्र वर्षमा तापमान वृद्धिमा देखिएको विराम कुनै दीर्घकालिन प्रवृत्त‌ि देखाउनकालागि निकै छोटो भएको पनि बताए।

उक्त प्रतिवेदनलाई स्वागत गर्दै संयुक्त राष्ट्र संघका महासचिव बान कि मुनले भने, “यो प्रकृयालाई थप गति दिन मैले सन् २०१४ को ‌सेप्टेम्बर महिनामा सरकार, व्यवसाय, वित्त, नागरिक समाज तथा प्राज्ञिक समुदायका नेतृत्वहरु सहभागी हुने हावापानी संबन्धी एउटा शिखर सम्मेलन आयोजना गर्नेछु। हामी विश्वव्यापी तापमान वृद्धिलाई यसअघि सहमति भएको दुई डिग्री सेल्सियस भन्दा कमै राख्‍न एउटा राजनीतिक प्रतिबद्धता सिर्जना गर्न आह्वान गर्दछौं।“

सन् दुई हजार नौमा कोपेनहेगनमा सम्पन्न जलवायु सम्मेलनले विश्वव्यापी तापमान वृद्धिलाई दुई डिग्री सेल्सियस भन्दा कमै राख्‍न सहमति जनाएको थियो।

त्यसो भएमा विश्वव्यापी तापमान वृद्धिकाकारण हुने विध्वंशात्मक असरहरु न्यून गर्न सकिने वैज्ञानिकहरु बताउँछन्।

तर पछिल्ला अध्ययनहरुले तापमान वृद्धि न्यूनिकरण गर्नेतर्फ कुनै ठोस प्रगति नभएको देखाएका छन्।

निष्कर्ष

स्टकहोममा जलवायु परिवर्तनसंबन्धी अन्तरसरकारी प्यानेल (आइपिसिसि) को अध्ययनका निष्कर्षहरुबारे बताउँदै उक्त प्यानेलका अध्यक्ष डा. राजेन्द्र पचौरीले भने, “सन् उन्डाइससय पचासको दशक यता देखिएका परिवर्तनहरु गएको एकहजार वर्षमै अभूतपूर्व छन्। समुद्र र वायुमण्डल तातिएको छ। वरफ र हिउँको मात्रा घटेको छ। समुद्रको सतह बढेको छ र हरितगृह ग्याँसहरुको मात्रा बढेको छ।”

मानवीय गतिविधिका कारण नै विश्वव्यापी तापमान वृद्धि भएको हो भन्ने विषयमा वैज्ञानिक समुदाय धेरैहदसम्म सहमत देखिन्छ।

उनीहरुले यदि अहिलेकै स्तरमा कार्बनडाइअक्साइड जस्ता हरितगृह ग्याँसहरुको उत्सर्जन जारी रहने हो भने विश्व तापमानमा तीन डिग्री सेल्सियसले वृद्धि हुनसक्ने चेतावनी दिएका छन्।

त्यसो भएमा समुद्री आँधी, सुख्खा जस्ता घटनाहरु अत्यधिक बढ्नेछन् र संसारभरिका करोडौं मानिसहरु तिनको चपेटामा पर्नछन्।

विश्व जलवायु संगठनका महासचिव मिचेल जारुडले भने, “यो प्रतिवेदनले थप विश्वसनीयताका साथ के पुष्टि गरेको छ भने गएको आधा शताब्दी यता जलवायु प्रणालीमा भएका परिवर्तन धेरैहदसम्म मानवीय प्रभावका कारण नै भएका हुन्। र यसले हाम्रो समाज मात्रै हैन, आउँदो पुस्ताहरु समेत गम्भीररुपमा प्रभावित हुनेछन् भन्ने कुराप्रति हामीलाई ब्युँझाउने काम पनि गरेको छ।”

प्रतिवेदनले विश्वव्यापी तापमान वृद्धिलाई कम गर्न हरितगृह ग्याँसहरुको उत्सर्जनमा ठूलो र लगातार कटौती गर्नुपर्ने जनाएको छ।

तर खासगरी पश्चिमा औद्योगिक मुलुकहरु तथा भारत एवम् चीनजस्दा उदाउँदा अर्थतन्त्रहरु त्यस्तो कटौती गर्न कुन हदसम्म तयार होलान् भन्ने प्रश्न भने छँदैछ। Source BBC

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us