अपांग विश्व साइकलयात्री पौडेल यूएईमा

काठमाण्डु टुडे २०७० असोज ११ गते १:४४ मा प्रकाशित

Cycle-yatri-Poudelआबुधावी । बिश्वभर रहेका अपांगहरुको मनोबल बढाउने उद्देश्यले आफू अपांग भएपनि उच्च हौसलाका साथ विश्व साइकलयात्रामा निस्केका चित्र पौडेल यूएई आइपुगेका छन् । यूएई आइपुग्नु अघि उनले अन्य ५१ मुलुकको यात्रा पार गरिसकेका छन् । न्युजिल्यान्डको यात्रा पुरागरी यूएई आइपुगेका उनको यसपछिको गन्तव्य जोर्डन र इजरायल हो ।

मोरङको विराटनगर स्थायी बसोबास भएका पौडेल ५ बर्षकै उमेरमा पोलियोबाट पीडित थिए । त्यसैकारण उनको दायाँ खुट्टा सुकेको छ । १६ बर्षको उमेरमा भारतमा गइ तीनपटकसम्म खुट्टाको अपरेसन गरेका पौडेल सामान्य हिँडडुल गर्न र साइकल चलाउन सक्छन् । सन् २००२ मा काठमाण्डु आउँदा हातै नभएका जापानी साइकलयात्रीलाई गरिएको सम्मानले आफूमा पनि केही गर्नसक्ने हौशला र प्रेरणा मिलेको बताउने पौडेल सन् २००४ बाट विश्व साइकलयात्रामा निस्केका हुन् । विश्वभर अपांगहरुप्रति सामान्य मानिस सरह समान व्यवहार हुनुपर्छ भन्ने मान्यता राख्दै उनको यही यात्रामार्फत विश्व कीर्तिमान बनाउने धोको रहेको छ । ‘हालसम्म पोलियो पीडित अपांगले विश्व साइकलयात्रामा कीर्तिमान नबनाएकाले जसरी पनि यात्रा पूरा गरि नेपाल, नेपाली र सम्पूर्ण अपांगहरुको नाम चम्काउने अठोट छु,’ उनले भने । १२० मुलुकको यात्रा पश्चात् आफ्नो धोको पूरा हुने उनले बताएका छन् ।

उनको यात्राका लागि धरानका ज्ञान बहादुर राईले उनलाई आवस्यक सहयोग गर्दै आइरहेका छन् । धेरै देशहरुको यात्रा २ जनाले संगसंगै पुरा गरिसकेका छन् । युक्रेनबाट आइ.टि मा स्नातक गरेका राईले पौडेल जस्तो उच्च मनोवल भएका मित्रलाई सहयोग गर्न पाएकोमा सन्तुस्ट रहेको बताएका छन् ।

यूएईमा दुबैजना साइकलयात्रीलाई गैर आवासीय नेपाली संघ यूएईका युवा संजाल प्रतिनिधि प्रकाश पौडेल, उपाध्यक्ष कपिल खड्का लगायतका पदाधिकारीले बस्ने तथा खानपानको ब्यवस्था मिलाएका छन् । २५ सेप्टेम्वर बुधबारका दिन आबुधावीमा भएको एक भेटघाट कार्यक्रममा संघका अध्यक्ष कृष्ण प्रसाद भुसाल तथा बरिष्ठ उपाध्यक्ष विकाश अधिकारीले अशक्तताका बावजुद यसरी देशको नाम राख्नका लागि विश्व कीर्तिमानको लक्ष्य राखी यात्रामा निस्केकामा शुभकामना तथा बधाई दिएका थिए । संघले आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने उनीहरुले प्रतिवद्धता व्यक्त गरे ।

सो अवसरमा पौडेलले आफू पैसा कमाउनका लागि नभै विश्वकै अपांगहरुलाई हेर्ने नजरमा सकारात्मक परिवर्तन आओस् भन्ने एकमात्र उद्देश्यले विश्व कीर्तिमान कायम गर्न साइकलयात्रामा निस्केकाले प्रवासमा रहेका सबै नेपालीहरुबाट आत्मीय सहयोग र समर्थनको अपेक्ष लिएको बताए । –उत्तम अधिकारी, अवुधावी

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us