बेलायतमा काँग्रेसको समानान्तर समिति

काठमाण्डु टुडे २०७० असोज ११ गते १:३४ मा प्रकाशित

लण्डन–नेपाली जनसम्पर्क समिति बेलायतको असन्तुष्ट काँग्रेस कार्यकर्ताहरुले समानान्तर समिति गठन गरेका छन् । उनीहरुले कार्यकर्ता भेला समेत सम्पन्न गरेका छन् ।
तीन बर्षे कार्यकालको लागि २००८ मा निर्वाचित अध्यक्ष लोक गुरुङको पाँच बर्षको कार्यकाल बितिसक्दा समेत वैधानिक रुपमा जनसम्पर्क समितिको अधिवेशन गर्न नसक्दा र असंवैधानिक रुपमा एकलौटी संस्था कब्जा गरिराखेको हुनाले छुट्टै समिति गठन गर्नु परेको असन्तुष्ट पक्षको भनाई छ ।

साउथइष्ट लण्डनका क्षेत्रीय सभापति र सम्पूर्णानन्द ढुंगानाको प्रमुख आतिथ्यमा सम्पन्न भेलाले सबै कार्यकर्ताहरुको भावनाअनुरुप जनसम्पर्क समितिलाई वैधानिक शून्यतामा राख्न नहुने भनी जनसम्पर्क समिति नयाँ चिराबाट अघि बढ्न नयाँ समिति गठन गरिएको छ । नयाँ समितिको अध्यक्षमा चेतनाथ खनाल, उपसभापतिद्वयमा विकास देवकोटा, महामन्त्रीमा युवराज सिंह, सहमहामन्त्रीमा आलेख चौहान, सहमहामन्त्रीमा बद्रि सापकोटा, कोषाध्यक्षमा सुरज केसी रहेका छन् । त्यस्तै केशव भण्डारी, राज सिटौला, शंकर गिरी, गंगा आले, दिनेश विष्ट, कुश बस्नेत, कृष्ण खरेल, राजु न्यौपाने, प्रशान्त कुँवर रहेका छन् ।

नेपाली काँग्रेसका पूर्व बुद्धिजीवी विभाग सदस्य डा. सम्पूर्णानन्द ढुंगाना, एनपीसीसी युकेका संस्थापक अध्यक्ष डा. पुरुषोत्तम पौडेल, पूर्व सभापति विनोद मोक्तान, महासमिति सदस्य दुर्गा बहादुर राना, जिल्ला सदस्य बल बहादुर आले, संस्थापक महामन्त्री विकास देवकोटा, ट्रेड युनियन काँग्रेसका पूर्व केन्द्रीय सदस्य राज कुमार शाक्य लगायतले जनसम्पर्क समिति वैधानिक शून्यतामा रहन नहुने बताएका थिए । भेलामा विभिन्न क्षेत्रका व्यक्तित्वहरुको पनि उपस्थिति थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us