इरान आणविक वार्तामा बस्न तयार

काठमाण्डु टुडे २०७० असोज ९ गते ३:३६ मा प्रकाशित

न्युयोर्क ९ असोज–पश्चिमा राष्ट्रको नाकाबन्दी झेल्दै आएको इरान आणविक वार्तामा बस्न तयार भएको छ । ईरानका राष्ट्रपति हसन रुहानीले ईरान आणविक वार्ताको लागि तयार रहेको अन्तराष्ट्रिय समुदायलाई जानकारी गराएका छन । 
संयुक्त राष्ट्र संघ महासभामा सम्बोधन गर्दै रुहानीले ईरान निश्चित समय भित्र नतिजा निकाल्ने गरी आणविक वार्तामा बस्न चाहेको बताएका हुन् । ईरान विरुद्धको नाकाबन्दी ज्यादतिपूर्ण भएको पनि रुहानीले बताए ।
सिरियाले रासायनिक हतियार विरुद्धको सहमति स्वीकार गरेकोमा खुसी ब्यक्त गर्दै रुहानीले रासायनिक हतियार प्रयोगको भत्र्सना समेत गरेका छन । विद्रोही समुहसँग रासायनिक हतियारको पहुँच हुनु सम्पूर्ण क्षेत्रका लागि निकै ठूलो खतरा हुने उनले बताए ।
यस अघि राष्ट्रसंघको महासभामा नै आप्नो सम्बोधनका क्रममा अमेरिकी राष्ट्रपति बराक ओवामाले रुहानीको केहि उदारवादी बाटोबाट आफु उत्साहित भएको बताएका थिए । राष्ट्र संघ महासभालाई संवोधनका क्रममा रुहानीले ईरानको आणविक कार्यक्रमका सम्बन्धमा कुटनीतिक पहल आवश्यक रहेको बताए ।
यसै वर्ष राष्ट्रपतिमा निर्वाचित रुहानीले अन्तराष्ट्रिय मामिलामा निकै खुला नीति अपनाएका छन् । ईरानले शान्तिपूर्ण प्रयोजनको लागि युरेनियम सम्बर्धन गरि रहेको रुहानीले बताए ।
पश्चिमा देशहरु भने ईरानलाई आणविक हतियार तयार पार्न लागेको भन्ने आरोप लगाईरहेका छन् । रुहानीले तथाकथित ईरानी खतरा काल्पनिक मात्र भएको धारणा राखेका छन् । ईरान सम्पूर्ण विश्वका कुनै क्षेत्रमा कुनै किसिमको खतरा नभएको रुहानीले बताए । एजेन्सी

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us