एसम्यानहरुले एनआरएन डुबाउने खतरा छ: हिराचन

काठमाण्डु टुडे २०७० असोज ८ गते १३:०४ मा प्रकाशित

विश्व सम्मेलन नजिकिँदै छ, तपाईं एनआरएनको प्रमुख संरक्षक पनि हुनुहुन्छ, तयारी कसरी अगाडि बढिरहेको छ ? 
हामीले विश्व सम्मेलनका लागि स्टेयरिङ कमिटी गठन गरेर तयारीहरु अगाडि बढाइरहेका छौं । सम्मेलनको तयारी सकारात्मक रुपमा अगाडि बढिरहेको छ ।

devman 1अध्यक्षपछि प्रमुख संरक्षक बन्नुभयो ? कसरी लिनुभएको छ यो जिम्मेवारीलाई ?
मैले जतिबेला पनि भरिरहेको छु । संस्थागत प्रक्रियाबाट संस्था चल्नुपर्छ, व्यक्तिगत प्रक्रियाबाट होइन । एनआरएन भनेको एउटा व्यक्तिको विजनेस कम्पनी होइन । त्यसैले यसमा व्यक्तिगत भूमिकाभन्दा संस्थागत प्रक्रियाको बढी महत्व हुन्छ । मैले सबैलाई समेटेर लैजानुपर्नेमा जोड दिँदै आएको छु । तर, त्यसकोविपरीत कामहरु भएको पनि देखेँ । किनभने, संसारभर ६७ वटा राष्ट्रमा हाम्रो सञ्जाल विस्तार भएको छ । तर, वर्तमान नेतृत्वको कमजोरीका कारण एनसीसीहरु प्रभावकारी रुपमा अगाडि बढ्न सकेका छैनन् भन्ने आवाज आइरहेको छ ।

भनेपछि, आइसीसीको वर्तमान नेतृत्वका कारण विवाद बल्झेको ठान्नुहुन्छ ? 
म त्यो भन्न चाहन्छु किनभने आइसीसीको नेतृत्व स्ट्रोङ भयो भने तल विवाद आउँदैन । तपाईंको घरमा पनि प्रमुख मान्छे दरिलो छ भने कहिल्यै छोराछोरीको बीचमा झगडा हुँदैन । जब घरको प्रमुख मान्छे नै कमजोर छ भने घरमा झगडा हुन्छ र समस्या सिर्जना हुन्छ । एनआरएनमा पनि अहिलेको नेतृत्वले जुन स्ट्रोङ एक्सन लिनुपथ्र्यो त्यो सकेको देखिदैन । एस म्यान मात्र जम्मा गर्ने हो भने संस्थाको आयु कम हुन्छ । नो म्यानहरुलाई पनि समेटेर लैजादा संस्था बलियो हुन्छ ।

तपाईं संरक्षक पनि हुनुहुन्छ । विभिन्न देशका अधिवेशनहरुमा पनि सहभागी हुनुभयो होला । के कारण एनसीसीहरुमा विवाद आइरहेको छ ? 
एनआरएनमा देखिएको विवादको मुख्य कारण सबैलाई समेटेर नलैजानु हो । अहिले केही व्यक्तिहरु र केही आफ्ना वरिपरिका मानिसहरु मात्र समेटेकाले समस्याहरु आएका आवाजहरु मैले सुनेँ । मलाई पनि साथीहरुले बारम्बार तपाईंले मिलाएर लैजानुपर्‍यो भनेर आग्रह गरिरहेका छन् । यस किसिमबाट संस्था अगाडि बढ्न सक्दैन भन्ने चिन्ताहरु साथीहरुले व्यक्त गरिरहेका छन् । मैले विवादहरुलाई मिलाउने प्रयास गरिरहेको छु । तर, कतिसम्म सकिन्छ सकिँदैन आउने सम्मेलनबाट थाहा हुनेछ ।devman 2

एनसीसीका विवादहरुले विश्व सम्मेलनलाई पनि प्रभावित पार्ने देखिन्छ कि विवाद त्यतिकै सेलाउँछ ? 
अहिले देखिएको विवादहरु त्यतिकै सुल्टिएर जाने देखिदैनन् । विवादहरु ठूला छन् । यही हिसाबले जाने हो भने एनआरएनको आयु कम छ भनेर म बारम्बार भन्दै आएको छु । एनआरएन भनेको सार्क देशहरुभन्दा बाहिर बस्ने सम्पूर्ण नेपालीहरुको संस्था हो भन्ने कुरा सबैलाई अनुभूत गराउन सक्नुपर्‍यो । त्यसैले तिमी आउन पाउँदैनौ भनेर कसैले कसैलाई भन्न पाउँदैन । दोस्रो कुरा, एनआरएन संस्था नै दर्ता भएको छैन । त्यसैले १ सय ८३ देशका सबै नेपालीहरु यसका सदस्य हुन् । कसैले यो संस्थामा बस्न पाउछ, यो पाउँदैन भनेर भन्न पाउँदैन । सबै देशका नेपालीलाई समेटेर लान सकियो भने मात्र यो संस्थाको आयु छ, त्यसैले म त्यसैका लागि प्रयास गरिरहेको छु । नत्र दुई तीन वटा संस्था बन्न सक्छ, त्यसैले यसमा हामी सचेत रहनुपर्छ ।

दुई तीन संस्था बने भने त त्यो गैरआवासीय नेपाली अभियानका लागि सबैभन्दा ठूलो धक्का हुन्छ । यस्तो हुन नदिन र सबै नेपालीलाई एकताबद्ध रुपमा एउटै संस्थामा आवद्ध गरिरहन प्रमुख संरक्षकका हैसियतले तपाईंले के पहल गरिरहनु भएको छ ? 
सबभन्दा पहिला कुनै पनि गैरआवासीय नेपालीले निकालेको आवाजलाई सुन्नुपर्छ । दोस्रो कुरा, यो मेरो मात्र संस्था होइन भन्ने कुरा बुझ्नुपर्छ । जस्तो मैले ग्लोबल कन्फरेन्समा एनआरएनलाई एकताबद्ध बनाइरहन अध्यक्षको दाबेदारी त्याग गरे । संस्थाको हितका लागि हरेक एनआरएन अगुवा त्याग गर्न तयार रहनुपर्छ । म नै अध्यक्ष हुनुपर्छ, मलाई नै पद चाहिन्छ भन्न थाल्यो भने संस्था चल्न सक्दैन । संस्थालाई राम्रो बनाउन आफू एक स्टेप पछाडि सर्न पनि तयार हुनुपर्दछ । आफू र आफ्नो मान्छे मात्र संस्थाका जिम्मेवारीमा आउनुपर्छ भन्ने भावना त्याग्नुपर्छ । मैले अहिले हामी भन्ने भावना स्थापित गर्न पहल गरिरहेको छु ।

एनआरएनमा राजनीतिक घुसेको, राजनीति मोर्चाबन्दी हुन थालेको कुराहरु पनि आइरहेका छ नि ? 
हो एकदम । मेरो भातृसंस्थालाई यो पद । अध्यक्ष मेरो, उपाध्यक्ष मेरो भनेर भागबण्डा हुन थालेको छ । यो किसिमले कहिल्यै संस्था चल्न सक्दैन । राजनीतिक क्षेत्रमा आउन चाहनेले संस्थाबाहिर बसेर राजनीति गर्नुपर्छ । अहिले त संस्थाभित्र नै अध्यक्ष कुन पार्टीको, उपाध्यक्ष कुन पार्टीको रे भन्ने कुरा सुनिन थालेको छ । यो किसिमले संस्था चल्न सक्दैन ।
यसमा आइसीसीले किन निगरानी नगरेको त ? 
निगरानी त लिडरसीपले गर्नुपर्‍यो । प्रमुख संरक्षकका हैसियतले दिनुपर्ने सल्लाह मैले दिइरहेको छु । मेरो धारणा संस्था टुक्रयाउन हुन्न भन्ने हो । तर, अहिले एनआरएन बिजनेश कमिटीजस्तो भइरहेको छ । जस्तो एनआरएन इन्भेष्टमेन्ट कम्पनी बन्यो । धेरै साथीहरुलाई त्यो एनआरएनएको कम्पनी भन्ने भ्रम परिरहेको छ । तर, वास्तवममा त्यो होइन । त्यो एनआरएनका केही साथीहरुले खोलेको कम्पनी हो । संस्थाले कम्पनी खोल्न पनि पाउँदैन । व्यापार गर्न पनि पाउँदैन । यसमा पोलिटिक्स गर्न पनि पाउँदैन भन्ने हाम्रो संस्थाको विधानमा प्रष्ट छ ।

अहिले केही गैरआवासीय नेपालीहरुले काउन्सिल, दोहोरो नागरिकताका लागि संघर्ष, संस्था दर्ता लगायतका माग पनि गरिरहेका छन् नि ?
यी सबै मागहरु जायज छन् । त्यसलाई हामीले पूरा गर्नका लागि पहल गर्नुपर्दछ । उहाँहरुले उठाएका सबै मागहरु एकसाथ सम्बोधन गर्न हामी सक्दैनौं । तर, विस्तारै समस्या समाधानका लागि पहल गर्नुपर्छ । संस्था दर्ता र दोहोरो नागरिकताको कुरा जुन छ, त्यो मेरो पालामा २७ पार्टीले दोहोरो नागरिकता दिने भनेर सहमति गरिसकेका थिए । अहिले नदिने पक्षमा किन उभिए ? लबिङ राम्रोसँग भएन । म प्रत्येक दुई महिनामा यसका लागि नेपालका राजनीति नेताहरुलाई भेट्न आइरहन्थेँ । छलफल गर्थें र एनआरएन आइसीसीमा रिपोर्ट पठाउँथें । तर, अहिले त झन् त्यति पनि भएको छैन । यो कार्यसमितिले के गर्‍यो त भन्ने कुरा अब प्रष्ट हुनुपर्छ । सम्मेलनमा यसमाथि गहिरो छलफल हुनेछ भन्ने मलाई पूरा विश्वास छ ।

केहीले एनआरएनएलाई मिलिनियर्स क्बल भनेर भनिरहेका छन् नि ? 
यो आलोचना बारम्बार सुनिने गरेको छ । यो स्वभाविक पनि छ किनभने अहिले साथीहरुका क्रियाकलाप त्यस्तै देखिरहेका छन् । धनीहरुले मात्र संस्थाको नेतृत्व हाँक्दा यस्तो देखिएको हो । मेरो धारणा भनेको के हो भने, एनआरएन धनीहरुको मात्र संस्था हैन बरु विद्यार्थी, बुद्धिजीवी, मजदूर र सार्क राष्ट्र बाहिरका सबै नेपालीहरुको संस्था हो । उनीहरु सबैलाई समेटेर लैजानुपर्छ । एनआरएनमा देखिएको विभाजनलाई रोक्न एनआरएन आइसीसीमा एउटा बजेट खडा गर्ने विद्वान मान्छेलाई संस्थाको अध्यक्ष बनाउने र उसलाई त्यो बजेटबाट संागठनिक कार्यका लागि संसारभर मोबिलाइज गर्ने कुरा पनि मैले संस्थामा राखेको हुँ ।

सदस्यता शुल्क कटौती गर्नुपर्‍यो । महँगो भयो भन्ने कुरा पनि उठिरहेको छ नि ? 
यो एकदम जायज कुरा हो । एउटा विद्यार्थीलाई आफ्नो फि तिर्नलाई गाह्रो भइरहेको छ । त्यसैले शून्यदेखि १०० सम्म सबैलाई समेट्ने किसिमको संस्था हुनुपर्छ । आइसीसीको सदस्यका लागि संस्थापक अध्यक्षले १ हजार डलर चाहिन्छ भनेर भन्नुभयो मैले त्यसको विरोध गरेँ । तर, उहाँले के भन्नुभयो भने तपाईं तिर्न सक्नुहुन्छ कि हुन्न भनेर मलाई प्रश्न गर्नुभयो । मैले तिर्न सक्छु भनेँ । त्यसो भए तपाईं चूप लाग्नुस् भन्नुभयो । आइसीसी सदस्यको शुल्क महँगो भएकै कारण ३० प्रतिशतले पनि शुल्क तिरेका छैनन् । बरु, २ सय डलर गर्‍यो भने बरु ६० प्रतिशतले तिर्न सक्छन् । मिडिलइष्ट साथीहरुलाई ५ सय डलर कसरी तिर्न भन्ने ? त्यसैले यी कुराहरुलाई साथीहरुको मागअनुसार हामीले परिवर्तन गर्नुपर्छ ।

आर्थिक पारदर्शिताका लागि वेबसाइटमा आइसीसीको खर्च विवरण सार्वजनिक गर्न पनि माग गरिएको छ ? के यो माग जायज हो ? 
एकदम जायज माग हो । यो संस्था सबैको साझा संस्था भएकाले हिसाब सबैले हेर्न पाउनुपर्छ । तपाईंले १ डलर डोनेशन गर्नुहुन्छ भने तपाईंको हेर्न पाउने अधिकार पनि छ । अहिले आइसीसीमा कति पैसा छ खर्च विवरण कस्तो छ भन्ने सार्वजनिक हुन सकेको छैन । यो कुरा हामी जोडतोडसँग गरिरहेका छौं । आइसीसीको फण्ड कहाँ छ ? कति इन्ट्रेष्ट आउँछ । फण्ड कसरी मोबिलाइज भइरहेको छ । त्यो सबै सदस्यले थाहा पाउनुपर्छ । संस्थालाई संस्थापकीय रुपमा अगाडि लानैपर्छ । मैले अध्यक्ष हुँदा ४२ वटा काम गरेको छु । त्यो चाहियो भने म दिन सक्छु । त्योमध्ये केही कामहरु पूरा गर्न पाइनँ । संस्था दर्ताको काम मेरो कार्यकालमा ८० प्रतिशत भइसकेको थियो । पाँचौं विश्व सम्मेलनमा उद्घाटनका दिन सर्टिफिकेट दिने भन्ने कुरा थियो । तर, केही साथीहरुले त्यसको उल्टो काम गरेकाले त्यो आउन सकेन । म सिधा कुरा गर्छु, जे ठीक छ, त्यो ठीक भन्छु, जे बेठीक छ त्यो बेठीक भन्छु ।

भनेपछि, तपाईंले आफ्नो कार्यकालमा सहयोग पाउनुभएन ? 
उपेन्द्रजी अध्यक्ष हुँदाखेरि मोटरको ढोका खोल्न म पुग्थेँ । उहाँको पछिपछि म जान्थेँ । उहाँ बसेपछि मात्र म बस्थेँ । उपेन्द्रजीलाई मैले सम्मान दिएको होइन, संस्थाको अध्यक्षलाई मैले आदर गरेको हुँ । तर, हिराचनको पालामा के गरियो ? जीवाजीले मलाई के सहयोग गर्नुभयो ? मैले उहाँहरुबाट अपेक्षा गरेअनुसार सहयोग पाइनँ । उहाँहरुले अहिले त्यसैको परिणाम भोग्दै हुनुहुन्छ । अहिले हिराचनलाई संस्था बनाउनु पर्‍यो तपाईंले जिम्मेवारी लिनुपर्‍यो भनेर संसारभरबाट हजारौँ साथीहरुले भनिरहेका छन् ।

एनसीसीहरुमा जसरी विवाद देखियो र तपाईंलाई साथीहरुले संस्था एकताबद्ध बनाउन पहल लिन आग्रह गरे ? तर, केही ठाउँमा विधान विपरीत जानेलाई कारवाही हुने कुरा पनि आइरहेको छ ? तपाईंले मिलनविन्दु कसरी खोज्नुहुन्छ ? 
कसैलाई कारवाही गर्न मिल्दैन यो म प्रष्ट गर्न चाहन्छु । यो कुनै एउटा सरकारी अफिस होइन । कसैले कसैलाई कारवाही गर्न पाउँदैन । बरु, सबैलाई कसरी समेटने भनेर बाटो खोज्नतिर लाग्नु आवश्यक छ । के को आधारमा तपाईंले कारवाही गर्ने ? एउटा एनआरएनको सदस्यलाई दर्ता नै नभएको संस्थाले कारवाही गर्न मिल्छ ? अमेरिका, बेल्जियम, पोर्चुगल लगायतका देशहरुमा समस्या देखिएका छन् । साथीहरुसँग मेरो दैनिक कुरा भइरहेको छ । म के चाहन्छु भने संस्थालाई सबैको साझा संस्था बनाएर लैजाने हो भने हामीले सबै साथीहरुलाई समेटेर लैजानु पर्छ । म त्यसैको पहल गरिरहेको छु । यो मान्छे मात्र अध्यक्ष हुनुपर्छ नत्र हुँदैन भन्ने भावना लियो भने संस्था बलियो बन्न सक्दैन । हामीले सबैको साझा संस्था बनाउने उद्देश्य पूरा हुन सक्दैन ।

यो धन, ज्ञान, सीप, बुद्धिको लगानी, हामी जुन देशमा बसेको त्यो देशको जनता, सरकार, एनजीओसँग नेपालको सरकार र यहाँको जनताबीच बि्रजको काम गर्ने भन्ने मुख्य उद्देश्य राखेर हामीले एनआरएन अभियान अगाडि बढाएका हौं । तर, अहिले बि्रज बन्ने भन्दा पनि आ-आफ्नो च्यानल मात्र बनाउने काम भइरहेको छ । मैले अध्यक्ष हुँदा आफ्नो एउटा पनि व्यवसायिक काम गरिनँ । तर, अहिलेको अध्यक्षले एनआरएन इन्भेष्टमेन्ट कम्पनी खोलेर संसारभरको एनसीसीको अध्यक्षहरु प्रयोग गरेर पैसा सङ्कलन गर्ने काम गर्‍यो । त्यस्तो गर्न मिल्दैन । त्यसको मैले विरोध गरिरहेको छु । विवाद सुरु त्यहीँबाट भएको हो । किनभने, पैसा हाल्ने मान्छे राम्रो भयो, पैसा नहाल्ने मान्छे सबै नराम्रो भयो ।

विधानविपरीत जाने र विधानको पालना नगर्ने भन्ने कुराहरु पनि आइरहेको छ नि ? 
दुई तीन जना व्यक्तिले ठीक छ भनेर ताली बजाउँदै विधान संशोधन गर्ने अनि विधानविपरीत भन्न मिल्छ । संसारभरका तीस लाख गैरआवासीय नेपालीहरुमध्ये कतिले विपरीत भनेका छन् । ५ प्रतिशत पनि छैनन् होला । ९५ प्रतिशतलाई छाडेर ५ प्रतिशतले विधान विपरीत भन्ने । यो एकदुई जना लेख्न सक्ने मान्छेहरुको भ्रम मात्र हो । म काम गरेर देखाउन मान्छे हो, भाषण दिने होइन ।
भनेपछि, विधानविपरीत भन्दा पनि यो नेतृत्वले ल्याएको विभाजन हो ? 
हो । सबैलाई समेटेर लैजान नसक्नु नेतृत्वको कमजोरी हो, विधानको होइन । हामीले बनाएको संगठनको समस्या हामीले समाधान गर्न सक्दैनौं ? एनआरएनमा तपाईंले पाउने होइन दिने मात्र हो । दिन आउने मान्छेलाई पनि सन्तोष दिएर हामीले राख्न सक्ने कि नसक्ने ?

बेलायतमा पनि ठूलो विवाद देखिएको छ ? आइसीसीले पनि विवाद मिलाउन पहल नगरेको कतिपयको गुनासो छ नि ? 
होइन । कोही पक्षले असहयोग गरेको हुन सक्छ । तर, हामी त्यहाँको समस्या बारेमा चिन्तित छौं । कसरी मिलाउन सकिन्छ भनेर हामी दिनरात एक्सरसाइज पनि गरिरहेका छौं । रोटी दुवैतिर पाक्नुपर्छ । युके हाम्रा लागि विशेष ठाउँ हो, संस्था सुरु भएको ठाउँ हो । त्यसैले त्यहाँ एकजना व्यक्तिलाई पनि छुटाउन मिल्दैन । तर, ६/७ हजार संस्थाको सदस्यलाई तिमीहरु चाहिँदैन भनेर कसले भन्यो ? म त्यो मान्छेको अनुहार हेर्न चाहन्छु । त्यहाँ सबै पक्षलाई मिलाएर लैजानुपर्छ । कोही छुट्नु हुँदैन । किनभने, एनआरएन सबैको संस्था हो । संस्थाप्रति माया छ भने मै हुनुपर्छ भनेर अड्डी कस्नु हुँदैन ।

भनेपछि, बेलायतको समस्या समाधान गर्न अझै पहलहरु जारी छन् ? 
हो, हामीले पहल मात्र होइन एकदमै महत्वका साथ त्यहाँको समस्यालाई समाधान गर्नतिर लागिरहेका छौं । त्यहाँ केही व्यक्तिहरुले बिगारिराखेको प्रष्ट देखिन्छ । केही व्यक्तिहरुको गलत कामका कारण यो परिणाम आएको हो ।

आइसीसीले विवाद समाधानका लागि समिति बनाएको खबर पनि सार्वजनिक भएको थियो । त्यो समितिले असन्तुष्टहरुले बनाएको एनसीसीलाई विघटन गर्ने प्रस्ताव गरेको हो ?
होइन । त्यसमा मेरो विरोध छ । मैले प्रमुख संरक्षक र त्यो समितिमा रहेको हैसियतले स्पष्ट रुपमा विरोध गरेको छु । मलाई सल्लाह आएको थियो । मैले विघटन होइन समेटेर लैजानुपर्छ भन्ने मत राखेको छु । त्यो कुरा मैले स्पष्ट लेखेर पठाएको छु ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us