चट्याङ लागेर ६ जनाको मृत्यु,१४ घाइते

काठमाण्डु टुडे २०७० असोज ८ गते ४:३६ मा प्रकाशित

काठमाण्डु, ८ असोज– खोटाङ, सिन्धुपाल्चोक र दोलखा जिल्लामा चट्याङ लागेर ६ जनाको मृत्यु भएको छ । गएराती चट्याङ लागेर खोटाङमा ३, सिन्धुपाल्चोकमा २ र दोलखामा एकजनाको मृत्यु भएको हो ।

चट्याङमा परी खोटाङ पाथेका–८ का ६० वर्षीय महन्त राई, उनका छोरा ३५ वर्षीय ढाकमशेर राई र वडा नम्बर ४ का ५० वर्षीय जयकुमार राईको ज्यान गएको छ। बेलुकाको खाना खाने समयमा वर्षासँगै परेको चट्याङमा परी तीनैजनाको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक दुर्गा रेग्मीले जानकारी दिए । ढाकमशेर संघीय समाजवादी पार्टी खोटाङका जिल्ला उपाध्यक्ष हुन् ।

यता, सिन्धुपाल्चोकमा पनि चट्याङ लागेर मानेश्वारा गाविस घुडेकी पुतली तामाङ र राम्चे गाविसका साङदोर्जे तमाङको मृत्यु भएको छ । चट्याङ लागेर मानेश्वाराकै गोरीमाया तामाङ र आकाश तामाङ गम्भीर घाइते भएका छन् ।

यसैगरी दोलखाको चिलङ्खामा चट्याङ लागेर एक बालिकाको मृत्यु भएको छ भने चौध जनाभन्दा बढी घाइते भएका छन् । चिलङ्खा गाविस–६ का हरिबहादुर तामाङकी १३ वर्र्षीया छोरी सरिताको चट्याङ लागेर मृत्यु भएको हो ।  गोठमा सुतिरहेको अवस्थामा मंगलबार बिहान करिब साढे २ बजेतिर परेको चट्याङ लागेर उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

चट्याङ लागेर सोही गाविस–६ की मन्दिरा जिसी बेहोस् भएकी छन् । उनलाई उपचारका लागि सिङ्गटी लगिएको छ । अन्य सामान्य घाइते १४ जनाको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । चट्याङले भीमेश्वर नगरपालिका मकैबारीमा केही चौपाया मरेको र अन्य स्थानमा पनि केही क्षति पुर्‍याएको प्रहरीले जनाएको छ ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us