
नवलपरासी, ८ – सवारी दुर्घटनामा मृत्यु भएकाका आफन्त र स्थानीयले पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको प्रगतिनगरमा सडक बन्द गराएका छन् ।
मृतकका आश्रित परिवारलाई क्षतिपूर्ति माग गर्दै उनीहरुले सडक ठप्प पारेका हुन् । बन्दका कारण हजारौं यात्रु बीच बाटैमा अलपत्र परेका छन् ।
भैरहवाबाट काठमाडौँका लागि छुटेको लु १ ख ७३६४ नम्बरको बसले ना १९ प ८३०४ नम्बरको मोटरसाइकललाई सोमबार ठक्कर दिँदा प्रगतिनगर–२ का ५० वर्षीय रामप्रसाद भुसाल, उनकी छोरी २६ वर्षीया लक्ष्मी र नाति २ वर्षका युगलको मृत्यु भएको थियो ।
पीडित पक्षले मृतकको नाममा २० लाखको ट्रष्ट स्थापना हुनुपर्ने, लक्ष्मीको गर्भमा रहेको बच्चाको समेत संख्या गन्ती गरी मृतक मान्नुपर्ने, मृतकका परिवारलाई एकमुष्ट ५० लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने, परिवारका सदस्यलाई हैसियतअनुसारको रोजगारीको व्यवस्था सरकारले गर्नुपर्नेलगायत माग राखेका छन् ।
परिवारले शव नबुझेपछि प्रहरीले चितवनको भरतपुर अस्पतालमा शव लगेको छ ।