चार दलका नेतालाई वैद्यले भनेः ‘कमण्डलु लिएर मानसरोबर जाऊ’

काठमाण्डु टुडे २०७० असोज ७ गते १२:४३ मा प्रकाशित

काठमाण्डु, ७ असोज– नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यले आफ्नो पार्टी सम्वद्ध ३३ दलीय मोर्चालाई पाखा लगाएर गरिएको संविधानसभा निर्वाचनको औचित्य नरहेको बताएका छन् ।
चुनाव बहिस्कार आन्दोलनमा रहेको ३३ दलीय मोर्चाले सोमबार राजधानीको खुलामञ्चमा गरेको विरोधसभामा वैद्यले आफूहरुलाई पाखा लगाएर बनाइने संविधान आगो लगाएर जलाउने चेतावनी दिए । चार दलीय सिण्डिकेटका आधारमा हुन लागेको चार मंसिरको निर्वाचनलाई उनले नौटंकीको संज्ञा दिए  । उनले उच्चस्तरीय राजनीतिक समितिमा रहेका मुख्य चार दलले मुलुकलाई सिक्किमीकरणको दिशामा लगेको आरोप लगाए ।

उनले दलीय नेतृत्वमा सरकार गठन गरी निर्वाचन गराउन नसक्ने मुख्य दलको औचित्य समाप्त भएको बताए । उनले राजनीतिमा कुनै हैसियत नरहेकाले कमण्डलु बोकेर कैलाश मानसरोबर पर्वतको यात्रामा जान आग्रह गरे । ‘दलको नेतृत्वमा सरकार बनाएर निर्वाचन गर्न नसक्ने मितिहरुको कुनै औचित्य छैन’, चार दलका शीर्ष नेतालाई सम्बोधन गर्दै वैद्यले भने, ‘मुलुकलाई सिक्किमीकरणबाहेक केही गर्न नसक्ने मितिहरु कमण्डलु बोकेर कैलाश पर्वततिर गए हुन्छ ।’ वैद्यले चार दलका शीर्ष नेतालाई लेण्डुप दोर्जेको संज्ञा दिए । उनले निर्वाचन बहिस्कार आन्दोलन सशक्त बनाइने घोषणा गरे ।

mohan-baidyaवार्ता र चुनाव बहिस्कार आन्दोनल सँगसँगै अघि बढाउने वैद्यले बताए । उनले आफूहरुसँग विगतमा आधार इलाका बनाएर बसेको अनुभव रहेकाले बहिस्कार आन्दोलनलाई कम नआँक्न चेतावनीसमेत दिए ।  वैद्यले चार दलीय सिण्डिकेट र कठपुतली सरकारलाई देशव्यापी अवज्ञा गर्न जनतालाई अपिल गरे । वैद्यले आफूहरुको संघर्ष भारतीय विस्तारवादको हस्तक्षेपकारी र हेपाहा प्रवृतिविरुद्ध भएको स्पष्ट गरे । मोर्चा घटक क्रान्तिकारी कम्युनिष्ट पार्टीका महासचिव मणि थापाले आफूहरुलाई बेवास्ता गरिए अर्को जनयुद्ध सुरु हुनसक्ने चेतावनी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us