राष्ट्रपतिसमक्ष फेरि बाधाअड्काउ अध्यादेश सिफारिस

काठमाण्डु टुडे २०७० असोज ७ गते १२:१९ मा प्रकाशित

काठमाण्डु, ७ असोज– सरकारले निर्वाचन सुरक्षाका लागि सेना परिचालन गर्न बाधाअड्काउ फुकाउसम्बन्धी अध्यादेश दोस्रोपटक राष्ट्रपतिसमक्ष पेस गरेको छ ।
Nepal-Army_20100923082843मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीले शीतलनिवास पुगी राष्ट्रपति रामवरण यादवसमक्ष अध्यादेश सिफारिस गरेका हुन् । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले संविधानसभाको पहिलो बैठकले अनुमोदन गर्ने गरी सेना परिचालनका लागि आवश्यक कानुन संशोधन गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो । अध्यादेश स्वीकृतिका लागि पुनः सिफारिस गर्ने निर्णयबारे जानकारी गराउन मन्त्रिपरिषद् अध्यक्ष रेग्मी, गृहमन्त्री माधव घिमिरे र मुख्यसचिव लीलामणि पौडेल राष्ट्रपति शीतलनिवास पुगेका थिए ।

यसअघि बुधबार सरकारले पठाएको सिफारिस संवैधानिक प्रक्रियासँग बाझिएको भन्दै राष्ट्रपतिले मन्त्रिपरिषद्मा फिर्ता पठाएका थिए । राष्ट्रपति रामवरणले मन्त्रिपरिषद् रेग्मीलाई आइतबार शीतलनिवास बोलाएर सेना परिचालनका लागि सरकारले गरेको सिफारिस प्रक्रिया नमिलेकाले सच्याउन भनेका थिए । यसअघि सोमबार बिहान बसेको उच्चस्तरीय राजनीतिक समितिले सेना परिचालनका लागि अन्तरिम संविधान संशोधन प्रक्रिया अघि बढाउन सरकारलाई आग्रह गरेको थियो ।

नेपालको अन्तरिम संविधान–२०६३ मा प्राकृतिक विपत्तिबाहेकको अवस्थामा सेना परिचालन गर्न नमिल्ने व्यवस्था छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us