‘रअ’ सँग जोडेर बदनाम गर्न खोजियोः प्रचण्ड

काठमाण्डु टुडे २०७० असोज ७ गते ८:४५ मा प्रकाशित

चितवन, ७ असोज– एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारतीय खुफिया एजेन्सी ‘रअ’ सँग जोडेर आफूहरुले सञ्चालन गरेको जनयुद्धको बदनाम गर्न prachanda 1खोजिएको बताएका छन् ।
क्रान्तिकारी पत्रकार संघले चितवनको भरतपुरमा सोमबार गरेको पत्रकार भेटघाटमा उनले आफूहरुले संयुक्त राष्ट्रसंघ, अमेरिका, युरोपेली संघ, भारत र चीनलाई लेखिएको एकै व्यवहोराको पत्रलाई भारतलाई मात्र पठाएको भन्ने गलत आरोप लगाइएको बताए । उनले शान्ति प्रक्रियामा आउन तयार रहेको समान व्यवहोराको पत्र सबैलाई एकैसाथ पठाए पनि भारतीय मध्यस्तकर्ताले आफूहरुलाई मात्र पत्र आएको गलत दाबी गरेको भन्दै आपत्ति जनाए । उनले नेपाली समाजको रुपान्तरणका लागि गरिएको विद्रोहको अग्रगामी व्यवस्थापनका लागि सबैको सहयोग चाहिएकाले पत्राचार गरिएको उल्लेख  गरे ।

अर्को एक फरक प्रसंगमा उनले मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीलाई समेत निर्वाचन प्रक्रियामा ल्याउन प्रयास भइरहेको बताए । वैद्य माओवादी नआए पनि चार मंसिरमा निर्वाचन भएरै छाड्ने दाबी उनको थियो । उनले चुनाव रोकिए त्यसको परिणाम मुलुकका लागि घातक सिद्ध हुने बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us