काठमाण्डु, ७ असोज – मलेसियामा कम्तीमा ८० जना नेपाली पक्राउ परेका छन् । अवैधानिक रुपमा बस्दै आएको अनुमानमा सोमबार विहान नेपालीहरुलाई पक्राउ गरिएको हो । अध्यागमन विभागले नेपाल फर्कन लागेकालाई विमानबाट ओरालेर समेत पक्राउ गरेको पत्रकार तारानाथ सापकोटाले जानकारी दिए ।
नेपाल फर्किन टिकट काटेकाहरु पक्राउ परेपछि कतिपय एयरलाइन्सको उडान प्रभावित भएको छ । नेपाल फर्कन नेपाल एयरलाइन्सबाट सोमवार १ सय ९० जनाले टिकट लिए पनि ६२ जना यात्रु कम देखिएका छन् ।
यस सम्वन्धमा नेपाली दूतावासका कार्यवाहक राजदूत लेखनाथ भट्टराईले नेपाली पक्राउ परेको पुष्टि गर्दै विस्तृत विवरण संकलनको काम भैरहेको जानकारी दिए । उनले मलेसियाको अध्यागमन विभागलाई यसबारे पत्राचार गर्ने बताए ।
गत बर्ष अवैधानिक रुपले बसोबास गरेकाहरुलाई वैधानिकता पुर्याउन मलेसिया सरकारले आग्रह गरेको थियो । समय गुज्रिएकाले अवैधानिक बसोबास गर्नेहरु विरुद्ध मलेसिया सरकारले निगरानी कडा पारेको छ ।