चुनावमा सेना खटाउन संविधान संशोधन गर्ने उच्चस्तरीय समितिको निर्णय

काठमाण्डु टुडे २०७० असोज ७ गते ८:४० मा प्रकाशित

HLPC-Meetingकाठमाण्डु, ७ असोज–उच्चस्तरीय राजनीतिक समितिले चुनावमा सेना परिचालनकोलागि बाधा अड्काउ फुकाउ मार्फत् संविधान संशोधन गर्न सरकारलाई सुझाव दिएको छ । सोमबार विहान बसेको उच्चस्तरीय समितिको बैठकले अन्तरिम संविधानको धारा १४५ को उपधारा ५ लाई संशोधन गर्न बाधा अड्काउ फुकाउको प्रकृया शुरु गर्न सरकारलाई पत्राचार गर्ने निर्णय गरेको हो ।

चुनावको सुरक्षाकालागि सेना परिचालन गर्न कानुनी जटिलता देखिएकाले बाधा अड्काउ फुकाउ मार्फत् संविधान संशोधन गर्न सरकारलाई पत्राचार गर्ने निर्णय भएको बैठकपछि एमाले नेता रघु जी पन्तले जानकारी दिए । बाधा अडकाउ फुकाउ आदेशपछि संविधानसभा स्थापना भएको एक महिनाभित्र संविधानसभाबाट अनुमोदन गर्ने बैठकले निर्णय गरेको छ ।

बैठकले चुनावी प्रकृयाप्रति असन्तुष्ट नेकपा–माओवादी नेतृत्वको मोर्चालाई पनि चुनावमा सहभागी हुन आग्रह गरेको छ । बैठकले अझै पनि सहमति गरेर मंसिर ४ को चुनावमा आउन नेकपा–माओवादी नेतृत्वको मोर्चालाई आग्रह गर्ने निर्णय गरेको हो।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us