बाढी पीडितकालागि संकलित ६० लाख थन्कियो

काठमाण्डु टुडे २०७० असोज ७ गते ३:५० मा प्रकाशित

दार्चुला, ७ असोज – दार्चुलाका बाढी पीडितका लागि संकलित ६० लाख रुपैयाँ राहत अझै वितरण हुन सकेको छैन । व्यक्तिगत र संस्थागत गरी जिल्ला दैवीप्रकोप उद्धार समितिको खातामा ४४ लाख, उद्योग वाणिज्य संघको खातामा १० लाख र बाढीपीडित संघर्ष समितिको खातामा छ लाख रुपैयाँ जम्मा भएको छ । तर, क्षतिको विवरण संकलन हुन नसक्दा राहत वितरण हुन नसकेको हो ।

स्थानीय प्रशासन र पीडित पक्षबीच क्षतिको विवरणमा विवाद छ । कसको कति क्षति भएको पुनः यकिन नहुँदा रकम वितरणमा समस्या भएको दैवीप्रकोप उद्धार समन्वय संयोजक तथा प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले बताए । ‘जम्मा भएको राहत दिने मापदण्ड बनाउन बाँकी नै छ,’ उनले भने, ‘सर्बपक्षीय बैठक बसेर टुंगोमा पुगेपछि राहत वितरण हुन्छ ।’

पीडितलाई राहत वितरण गर्ने भन्दै दर्जनौं कार्यालय र संघसंस्थाले चासो देखाए पनि दुई किलो चामल पाउन प्रमुख जिल्ला अधिकारीको सिफारिस ल्याउनुपर्ने स्थितिले पीडितहरु झन् पीडित भएको बाढीपीडित संघर्ष समितिका सचिव रघुवीरसिंह ठगुन्नाले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us