बाजुरामा खाद्यान्न अभाव

काठमाण्डु टुडे २०७० असोज ७ गते ३:१९ मा प्रकाशित

बाजुरा, ७ असोज – जिल्ला सदरमुकामसम्म पुग्ने बाटो मर्मत नहुँदा बाजुरामा दैनिक उपभोग्य सामानको अभाव भएको छ । विक्रम संवत् २०५१ मा अछामको टोटासालदेखि बाजुराको सदरमुकामसम्म निर्माण भइरहेको ५७ किलोमिटर सडक हालसम्म सम्पन्न नहुँदा खाद्यान्न ढुवानी हुन सकेको छैन ।

पर्याप्त खाद्यान्न नपाएकाले यसपालीको दशैं तिहार खल्लो हुने बाजुराबासीको चिन्ता छ । सदरमुकाम मार्तडीमा व्यापार गरी जिल्लाको उत्तरी भेग र हुम्ला, मुगुका अधिकांश गाविसमा सामान पठाउने व्यापारी बागदल मल्लले टाढाटाढाबाट सामान किन्न आएका ग्राहकलाई रित्तो हात फर्काउनु परेको बताए ।

‘बाटो बिग्रेर खच्चर समेत हिँड्न सक्दैनन्, पसलमा सामान पनि छैन,’ उनले भने । चामल, तेल, चिनी, पिठो, नुनको अभाव भएको उनको भनाई छ ।

सडक डिभिजन कार्यालय साँफे मार्तडी सडक आयोजनाका कर्मचारी, स्थानीय प्रशासन र जिल्लाका सरोकारवाला निकायले सडक खुलाउन पहल गरे पनि सुनवाइ हुन सकेको छैन । बाजुराको बुढीगङ्गा गाविसको तिपाडासम्म वर्षात्पछि पुनः बस सेवा सुचारु भए पनि सदरमुकामसम्मको बाटोको बीचमा आएको पहिरो नहटाएका कारण बाटो खुलेको छैन ।

प्रमुख जिल्ला अधिकारी धु्रवराज जोशीले जिल्लामा बजेट रकम नै कम आउने गरेका कारण समस्या परेको बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us