अपाङ्गलाई जापानमा बस्ने नेपालीको सहयोग

काठमाण्डु टुडे २०७० असोज ७ गते २:०७ मा प्रकाशित

पर्वत, ७ असोज– पर्वतको रानीपानी गाविस–६ पस्यारका एउटै परिवारका चार अपाङ्ग बालिकालाई जापानमा बस्दै आएका नेपालीले आर्थिक सहयोग गरेका छन् । बलबहादुर परियारको परिवारलाई रोजगारीका लागि जापानमा रहेका नेपालीले आर्थिक सहयोग स्वरूप नगद एक लाख रुपैयाँ प्रदान गरेका हुन् ।

जापानमा होटल व्यवसाय गर्दै आएका मुस्ताङ जिल्लाका रोविन शेरचनले अशक्त परिवारको सहयोगार्थ सञ्चालन गरेको हिमालय साँझबाट सङ्कलित रकम उनका भाइ ज्ञानेन्द्र शेरचनले बलबहादुरलाई हस्तान्तरण गरेका छन् । जन्मेदेखि नै ओछ्यानमा सुतेर मृत्यु पर्खिरहेका बलबहादुरका चार छोरीको पीडा सञ्चार माध्यममार्फत थाहा पाएपछि शेरचनले जापानमा हिमालय साँझ नामक साङ्गीतिक कार्यक्रम आयोजना गरी रकम सङ्कलन गरेका थिए ।

बलबहादुर र कौशिलाका १० सन्तानमध्ये तीन सन्तानको मृत्यु भइसकेको छ भने चार छोरी अपाङ्ग छन् । एक छोरीको भने विवाह भइसकेको छ । अर्की छोरी विद्यालय पढ्दैछिन् । कान्छो छोरो काखमा छ । उन्नाइस वर्षीया मीठु, ११ वर्षीया गङ्गा र जमुना, ८ वर्षीया अनिताका न हात चल्छ न खुट्टा नै । बोली भने सपाङ्गको सरह नै छ ।

जन्मेको ६ महिनासम्म स्वस्थ नै भए पनि त्यसपछि छोरीहरू पालैपालो थला परेको बाबु बलबहादुरले बताए । निरन्तर बिरामी पर्ने भएकाले उनको परिवार झनै समस्यामा पर्ने गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us