नेपालको परिवर्तनमा विदेशीको हात छैनः प्रचण्ड

काठमाण्डु टुडे २०७० असोज ७ गते १:२१ मा प्रकाशित

काठमाण्डु, ६ असोज– एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालमा भएको राजनीतिक परिवर्तनमा बाह्य शक्तिको कुनै हात नरहेको बताएका छन् ।
Prachandaराजधानीमा आइतबार भएको एक कार्यक्रममा उनले नेपाली जनताको बल र नेपालकै राजनीतिक दलको अग्रसरतामा भएका राजनीतिक परिवर्तनमाथि प्रश्न उठ्ने गरी गलत प्रचारवाजी भइरहेके भन्दै आपत्ति जनाए । उनले गणतन्त्र, संघीयता, समावेशीता जस्ता एजेण्डा आफुहरुको नेतृत्वमा सञ्चालित जनयुद्ध र २०६२÷०६३ सालको जनआन्दोलनको बलमा भएको बताए । ‘नेपालमा भएको राजननीतिक परिवर्तन विदेशी तागतले होइन, नेपाली जनताको बल  र दलहरुको पहलमा हो’, उनले भने, ‘अंशलाई उचालेर समग्रतामाथि प्रहार गर्ने काम भइरहेको छ । यो हामीलाई यो स्वीकार्य छैन ।’

उनले १२ बुँदे समझदारीअघि युद्धको आवश्यकता र तत्कालीन परिस्थितिअनुसार आफ्नो पार्टीले शान्तिप्रक्रियामा आउन चाहेको समान व्यहोराको पत्र भारतलाई मात्र नभई चीन, अमेरिका युरोप र संयुक्त राष्ट्रसंघलाई पठाए पनि भारतलाई मात्र पत्र पठाइएको भन्दै गलत प्रचार भइरहेकामा आपत्ति जनाए । नेपालमा माइक्रो म्यानेजमेन्टमा हात नहाल्न (सेना, प्रहरी र प्रशासन यन्त्रमा हस्तक्षेप ) भारतलाई आग्रह गरे । भारतको त्यस्तो व्यवहार उ स्वयमका लागि घातक सावित हुन सक्ने उल्लेख गरे ।

नेपाली जनता इतिहासमा सदैव सार्वभौम रहेको चर्चा गर्दै प्रचण्डले विदेशी हस्तक्षेप स्वीकार गर्ने पक्षमा आफूहरु नरहेको स्पष्ट गरे । नेपालको राजनीतिक नेतृत्व कसैको इशारमा ननाचेको दाबी उनको छ । नेपालको राजनीतिक प्रणाली राजनीतिक दलहरुकै नियन्त्रणमा रहेको भन्दै उनले त्यसमा तलमाथि हुनेमा आशंका नगर्न आग्रह गरे । मुलुकको समस्या समाधान र नेपाली जनताको हितमा गरिएको कुटनीतिक डिललाई विदेशीको दलाली गरेको भन्ने अर्थमा गलत प्रचार गरेर कसैलाई फाइदा नपुग्ने प्रचण्डले बताए ।
प्रचण्डले पछिल्लो राजनीतिक परिवर्तन शान्तिपूर्ण आन्दोलनको बलमा मात्र भएको र त्यसमा जनयुद्धको कुनै भूमिका नरहेको प्रचार भइरहेकामा पनि आपत्ति जनाए । नेपालमा भएका सबै परिवर्तनकारी आन्दोलन हिंसा र बलप्रयोबाट मात्र सम्भव भएको भन्दै उनले काँग्रेस नेतृत्वमा २००७ सालमा भएको आन्दोलन र तत्कालीन नेकपा मालेले २०२८ सालमा गरेको झापा विद्रोहलाई स्मरण गर्न सबैलाई आग्रह गरे । उनले हिंसाबाहेक अन्य बाटोबाट नेपालमा राजनीतिक परिवर्तन भएको एउटा मात्र उदाहरण पेश गर्न चुनौतीसमेत दिए ।

उनले पार्टीको घोषित नीतिअनुसारै राजा वीरेन्द्रको वंशनाशअघि सत्ताको मूल नेतृत्वमा रहेका संसदवादी दलमाथि प्रहार गरेको र उनको हत्यापछि नक्कली राजा मान्न सकिन्न भनेर संसदवादीसँग मिलेको चर्चा गरे । प्रचण्डले आफूहरुले लिएको विद्रोहको बाटो फेरिए पनि लक्ष्य नबदलिएकामा कोही भ्रममा नपर्न भने । उनले नेपालमा सकैलाई कसैका विरुद्ध उचाल्ने र पछार्ने काम नगर्न पनि चेतावनी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us