भूमिगत समूहका सैन्य कमाण्डर चौहान सिंह पक्राउ

काठमाण्डु टुडे २०७० असोज ६ गते १०:२५ मा प्रकाशित

Chauhan-Singhवीरगंज, ६ असोज – सशस्त्र भुमिगत संगठन जनतान्त्रिक तराई मुक्ति मोर्चा गोईत समूह पर्साका सैन्य कमाण्डर चौहान सिंह भनिने रबिन्द्र पटेललाई प्रहरीले पक्राउ गरेको छ । सिर्सीया स्थित सुख्खा बन्दरगाह क्षेत्रबाट शनिबार साँझ पक्राउ परेका पटेललाई प्रहरीले आज दिउँसो सार्बजनिक गरेको हो ।

पर्साको लिपनीबिर्ता गाविस ६ निवासी पटेललाई अन्चल प्रहरी कार्यालय नारायणी वीरगंजका बरिष्ठ प्रहरी उपरीक्षक सर्बेन्द्र खनाल नेतृत्वको टोलीले पक्राउ गरेको थियो । पत्रकार सम्मेलनमा खनालले बिभिन्न ब्यक्तिको हत्या, बम बिष्फोट, लुटपाट, फिरौती र चन्दा आतंकमा पटेलको संलग्नता रहेको बताए ।

पटेलले २०६५ साल असोज ३ गते वीरगंजको रानीघाट स्थित घर अगाडी जिल्ला प्रसासन कार्यालय पर्साका प्रशासकीय अधिकृत मोहन मैनालीलाई गोली हानी हत्या गरेको खनालको भनाई छ ।
२०६४ सालमा पर्सा महुवनका फुलचन साह कानुको हत्या, २०६७ साल असार ३ गते वीरगंजस्थित भारतीय महावाणिज्य दुतावासका तत्कालीन महावाणिज्य दुत त्रिभुवन अशोकलाई पनि फोनमार्फत ज्यान मार्ने धम्की दिने कार्यमा पनि उनको संलग्नता रहेको खनालले पत्रकार सम्मेलनमा जानकारी दिएका थिए ।

अन्चल प्रहरी कार्यालय नारायणीले वीरगंज तथा बारा, पर्सामा आतंक मच्चाउने कुख्यात अपराधीहरुलाई पक्राउ गर्ने कार्यमा तिब्रता दिएपछि शान्ति सुरक्षा सुदृढ बन्दै गएको वीरगंज उद्योग बाािणज्य संघका महासचिव गोपाल केडीयाले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us