अखिलको नेतृत्व चयन प्रकृया जारी

काठमाण्डु टुडे २०७० असोज ६ गते ६:५६ मा प्रकाशित

flag of akhilकाठमाण्डु, ६ असोज–नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको २१ औं महाधिवेशन अन्तरगत नयाँ नेतृत्व चयन प्रकृया शुरु भएको छ । राष्ट्रिय सभागृहमा मनोनयन दर्ता प्रकृया जारी छ ।

अध्यक्ष पदमा लक्ष्मण लम्साल, नवराज पौडेल र किशोर विक्रम मल्लले मनोनयन दर्ता गराएका छन् । लम्साल एमाले अध्यक्ष खनाल पक्षका हुन् भने मल्ल ओलीपक्षका हुन् ।

उपाध्यक्ष पदमा लम्साल प्यानलबाट दिपक गौतम, थोमस बास्तोला र ध्रुव राईले मनोनयन दर्ता गरेका छन् । यस्तै मल्लको प्यानलबाट बचन बहादुर सिंह, ऐन बहादुर महर र सरोज यादवले उपाध्यक्ष पदमा दावी गरेका छन् । पौडेलको प्यानलबाट उपाध्यक्षमा राज कुमार राई, सीपी घर्ती र महेश पन्त चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् ।

महासचिवमा निवर्तमान उपाध्यक्ष नविना लामा र निवर्तमान सचिव रचना खड्काको मनोनयन दर्ता भएको छ । लामाले यसअघि अध्यक्ष पदमा दावी गरे पनि पार्टी नेताहरुको आग्रहमा महासचिवमा उठेकी हुन् ।

यसैगरी सचिव पदमा राधिका खतिवडाको मनोनयन दर्ता भएको निर्वाचन समितिले जनाएको छ ।

विहीबार वाल्मिकी विद्यापीठमा एमाले अध्यक्ष झलनाथ खनालले महाधिवेशन उद्घाटन गरेका थिए । शुक्रबारबाट बन्दसत्र शुरु गर्ने कार्यतालिका भए पनि नेतृत्व र प्रतिनिधि छनौटमा विवाद भएपछि आइतबारबाट मात्र निर्बाचन प्रकृया शुरु भएको हो ।

झण्डै १५ सय प्रतिनिधिहरुले नयाँ नेतृत्व चयनकालागि मतदानमा भाग लिनेछन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us