
काठमाण्डु, ६ असोज – मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीले नेपाली जनताको संविधान बनाउने सुनिश्चितता र राजनीतिक स्थायित्वका लागि मंसिर चार मै संविधानसभा चुनाव गराउन सरकार क्रियाशील रहेको बताएका छन् । स्वतन्त्र, निष्पक्ष र भयरहित निर्वाचन नै सरकारको लक्ष्य हो भन्दै रेग्मीले निर्वाचनमा सबैलाई सहभागि हुन आह्वान गरे ।
‘हाम्रो स्रोत हाम्रो विश्वास हाम्रो लक्ष्य सामाजिक विकास’ नाराका साथ ३४ औं सामाजिक सुरक्षा दिवसका अवसरमा समाजकल्याण परिषदले आइतबार काठमाण्डुमा गरेको कार्यक्रममा अध्यक्ष रेग्मीले चुनावमार्फत् देश विकासको बाटोमा अग्रसर हुने विश्वास व्यक्त गरे
परोपकार नै पुण्य कार्य हो भन्ने सामाजिक सेवाको भावनाबाट नेपाली समाज सँधै प्रेरित रहेको भन्दै उनले सभ्य, शिष्ट र समृद्ध समाज निर्माण गरी मानव समाजलाई एकताको सूत्रमा आबद्ध गर्न सामाजिक संघ संस्थालाई आग्रह गरे । ‘सामाजिक संस्थाको भूमिका गरिबमुखी र ग्रामीणमुखी हुनुपर्ने उनको जोड थियो ।
कार्यक्रममा अध्यक्ष रेग्मीले एक लाख रुपैयाँ राशिको यस वर्षको तुलसीमेहर समाज सेवा पुरस्कार नेपाल अन्धा कल्याण संघ त्रिपुरेश्वरलाई प्रदान गरे । यसैगरी २१ हजार रुपैयाँ राशिको समाजसेवा पुरस्कार विष्णुकुमारी लिम्बू, रामबहादुर अमात्य, वसन्तराज कुँवर, वीरेन्द्रराज शर्मा पाखरेल, मानकुमारी गिरी, महावीर पुन र लेखराज सुवेदीलाई प्रदान गरिएको थियो ।