काजक्रिया गरिसकेका व्यक्ति जिउँदै घर फर्किएपछि श्रीमतीसँग पुनर्विवाह

काठमाण्डु टुडे २०७० असोज ६ गते १:५८ मा प्रकाशित

सल्यान, ५ असोज – गएको असार महिनामा भारतको केदारनाथ गौरीकुण्डबाट बेपत्ता भएका एक व्यक्ति चार महिनापछि जीवित्तै घर फर्केका छन् । सल्यानको भल्चौर–१ का बाबुराम विक शुक्रबार जीवित्तै घर फर्केका हुन् ।

चार महिना बितिसक्दा पनि उनको कुनै खबर नआएपछि परिवारले उनको काजकिरियासमेत गरिसकेका थिए । काजक्रिया गरेर माया मारिसकेका बाबुराम फर्किएपछि घर परिवार र छिमेकीले उनलाई बाजागाजासहित घरमा लगेका थिए ।

काजक्रिया गरिसकेको हुँदा शनिबार बिहान गाउँलेले स्थानीय शिव मन्दिरमा विक र उनकी श्रीमती नोखी विकको दोस्रो विवाहसमेत गराइदिएका छन् । असारदेखि रातो कपडा, सिन्दुर, चुरापोते लाउन छाडेकी विकले पुनः लाउन पाएकी छिन् । श्रीमान् घर फर्केर आएपछि दोस्रो विवाह गाउँलेले गराई दिँदा उनी धेरै खुसी छिन् । बेपत्ता भएका उनको गाविसमा मृत्यु दर्तासमेत भइसकेको बताइन्छ ।

बाढीमा परेर घाइते भएका बाबुरामलाई बेहोस अवस्थामा सेनाको हेलिकप्टरले उद्धार गरी अस्पताल पुर्‍याएको थियो । होसमा आएपछि आफू नजिकैको कर्णपारक अस्पताल रहेका थाहा पाएका उनले रासससँग टेलिफोनमा भने– सेनाको उद्धारबाट बाँच्न सफल भएँ, मैले पुनर्जन्म पाएँ । उपचारका क्रममा झन्डै दुई महिना अस्पताल बसेको र अस्पतालले नै घर जान दुई हजार ५०० गाडी भाडा दिएको उनले बताए ।

गौरीकुण्डमा घाइते भएका धेरै नेपालीले उक्त अस्पतालमा उपचार गराइरहेको उनको भनाइ छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us