
काठमाण्डु, ५ असोज– मोहन वैद्य नेतृत्वको नेकपा–माओवादी सम्वद्ध ३३ दलीय मोर्चाले आगामी असोज ९ र १० गतेका लागि घोषित नेपाल बन्दको कार्यक्रम फिर्ता लिएको छ ।
नेकपा–माओवादीको बुद्धनगरस्थित कार्यालयमा शनिबार बसेको मोर्चाको बैठकले बन्द फिर्ताको निर्णय लिएको मोर्चा घटक क्रान्तिकारी कम्युनिष्ट पार्टीका महासचिव मणि थापाले काठमाण्डु टुडेलाई जानकारी दिए ।
निर्वाचन आयोगले प्रत्यक्ष र समानुपातिक तर्फको उम्मेदवारी दर्ताको समय एक साता पर सारेपछि आफूहरुले बन्द फिर्ता लिएको थापाले बताए । सरकार र उच्चस्तरीय राजनीतिक समितिको आग्रहमा निर्वाचन आयोगले दुई दिनअघि समानुपातिक तर्फको उम्मेदवारी दर्ताको समय असोज ७ गतेबाट १४ गते र प्रत्यक्षतर्फको उम्मेदवारी दर्ताको समय १० गतेबाट १४ गतेका लागि सारेको थियो । मोर्चाले प्रत्यतर्फको उम्मेदवारी दर्ता प्रभावित पार्ने गरी बन्द घोषणा गरेको थियो । थापाले दसैंको समय पर्ने भएकाले उम्मेदवारी दर्तालाई प्रभावित गर्ने गरी बन्द हड्तालका कार्यक्रम नल्याएको स्पष्ट गरे ।
आन्दोलनका स्वरुपका बारेमा आगामी बैठकमा छलफल हुने उनले बताए । सरकारले निर्वाचन सुरक्षाका लागि नेपाली सेना प्रयोग गर्ने तयारी गरेकामा मोर्चाले आपत्ति जनाएको छ । विस्तृत शान्ति सम्झौताविपरीत युद्ध निम्त्याउन सेना प्रयोग गर्ने तयारी भएको ठहर मोर्चाको छ ।
राष्ट्रिय सार्वभौमसत्ताको सुरक्षार्थ गठित नेपाली सेनालाई निर्वाचन जस्तो नितान्त आन्तरिक मामिलामा दुरुपयोग गर्न खोज्नु भनेको वृहत शान्ति सम्झौताको गम्भीर उल्लङ्घन हो र युद्धको घोषणा गरी द्वन्द्व निम्त्याउनु पनि हो ’ बैठकपछि माओवादी सचिव देव गुरुङद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘अतः उक्त निर्णय अविलम्ब बदर गर्न माग गर्दछौं ।’
बैठकले बर्दिया सदरमुकाम गुलरियामा नेपालीको घरमा भारतीय प्रहरीले छापा मारेर नेपालको सार्वभौमिकतामा हस्तक्षेपको पु¥याएको ठहरसमेत गरेको छ । यस्तै मोर्चाले नेपालको अन्तर्राष्ट्रिय विमानस्थलमा अमेरिकी सेनाको जहाज अवतरण भएकामा त्यसबारे सार्वजनिक सूचतामार्फत आम जनतालाई जानकारी गराउनसमेत माग गरेको छ ।