चुनावका कुरा गर्नेलाई बन्दुकले ठीक पार्छौं: चन्द

काठमाण्डु टुडे २०७० असोज ५ गते १३:०५ मा प्रकाशित

विदुर, ५ असोज– नेकपा–माओवादीका सचिव नेत्रविक्रम चन्दले संविद्यानसभा निर्वाचन गर्छौँ भन्ने दल र नेताविरुद्ध बन्दुक उठाउने चेतावनी दिएका छन् ।
chandनुवाकोट सदरमुकाम विदुरमा शनिबार माओवादीले गरेको युवा मार्चपास कार्यक्रममा सचिव चन्दले चुनावको नाटक गरेर जनतालाई धोका दिने षड्यन्त्र भइरहेको बताए । उनले आफूहरुको सहमति बेगर जवर्जस्ती मंसिर ४ गते निर्वाचन गर्न खोजिए सरकार, मुख्य चार दल र तिनका नेताहरुलाई तह लगाउन माओवादीले बन्दुकसम्म उठाउने धम्की थिए । उनले संविधानसभा निर्वाचनमा सहभागी हुने उम्मेदवारलाई जनकारबाही र अपहरण गर्ने चेतावनी दिए ।

उनले काँग्रस, एमाले र एमाओवादीले आफूहरुको धैर्यतालाई कमजोरी ठानेको बताए । ‘हामीले राखेका मागको सम्बोधन गरिए चुनावमा जान्छौँ भन्दाभन्दै गरिएन’ चन्दले ‘हामीलाई पेलेर कुनै हालतमा पनि चुनाव गर्छु भन्छौं भने चुनाव हुनै दिन्नौँ, बरु बलिदान दिन तयार छौँ ।’ निष्पक्ष निर्वाचनका नाममा सेना परिचालन गरेर जनताको हत्या गर्न खोजिएको आरोप चन्दले लगाए । ‘हामीसँग हतियार छैन र माओवादीको धम्कीले केही गर्न सक्दैन भनेर चुनावमा सेना लगाउँछौ भने हामी रातारात हजारौँ जनमुक्ति सेना बनाउँछौँ,  चन्दले धम्की भने, ‘ तिमीहरुलाई तह लगाउन हामी पनि पनि बन्दुक उठाउँछौँ ।’ उनले सेनाको आडमा जवर्जस्ती निर्वाचन गराइए मंसिर ४ गतेकै दिन जनता जनसक्ता निर्माण गर्ने घोषणा गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us