माओवादी कार्यालयमा उम्मेदवार छनोटबारे छलफल

काठमाण्डु टुडे २०७० असोज ५ गते २:५५ मा प्रकाशित

काठमाण्डु, ५ भदौ– एकीकृत नेकपा माओवादीले पार्टीको निर्वाचन रणनीति र उम्मेदवार छनोटका लागि गृहकार्य तीव्र पारेको छ ।
maoist flagत्यसका लागि शनिबार केन्द्रीय कार्यालय बैठक बसेको छ । ललितपुरको हात्तीवनस्थित उपाध्यक्ष नारायणकाजी श्रेष्ठ निवासमा बिहान तीन घण्टा चलेको बैठकमा चुनावी रणनीति, घोषणापत्र, तथा उम्मेदवार छनोटलगायत विषयमा छलफल भएको नेता पोष्टबहादुर बोगटीले जानकारी दिए । बोगटीका अनुसार जिल्ला र राज्य समितिहरुबाट प्रत्यक्ष र समानुपातिक उम्मेदवारका लागि सिफारिस भएर आएका नामलाई अन्तिम रुप दिने विषयमा छलफल भएको थियो । यसअघि हिजो बस्ने भनिएको बैठक नेताहरुको कार्यव्यस्तताका कारण आज बसेको हो ।

बोगटीले उम्मेदवारी छनोटको काम अन्तिम चरणमा पुगेको र केही दिनभित्रै अन्तिम टुगो लाग्ने बताए । बैठकमा अध्यक्ष प्रचण्ड, नेताहरु बाबुराम भट्टराई, नारायणकाजी श्रेष्ठ, पोष्टबहादुर बोगटी, प्रवक्ता अग्नि सापकोटा र केन्द्रीय कार्यालय सचिव हितराज पाण्डे सहभागी थिए । बैठकस्थलमा सञ्चारकर्मीलाई समेत रोक लगाइएको थियो ।

यस्तै बैठकले अरु पार्टीबाट प्रवेश गरेका दुई जनालाई केन्द्रीय सदस्यको जिम्मेवारी दिएको छ । बैठकले मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीबाट आएकी कञ्चन खनाल र फोरम लोकतान्त्रिकबाट आएका अरवीन्द्र साहलाई केन्द्रीय सदस्यको जिम्मेवारी दिने निर्णय गरेको हो ।

यसैबीच प्रवक्ता अग्नि सापकोटाले बढीमा एक साताभित्र उम्मेदवार छनोटको काम सकिने जानकारी दिएका छन् ।  पार्टी केन्द्रीय कार्यालय कोटेश्वर पेरिसडाँडामा शनिबार भएको नियमित पत्रकार सम्मेलनमा उनले प्रत्यक्षतर्फको ५ दिनभित्र र समानुपातिकर्फको उम्मेदवार छनोट एक साताभित्र हुने जानकारी दिए । यस्तै चुनावी घोषणापत्रलाई पनि अन्तिम रुप दिने काम भइरहेको उनले जनाए ।

उनले घोषणापत्रमा समानुपातिक, समावेशी सहभागितामुलक लोकतन्त्र, सामाजिकन्यायसहितको आर्थिक विकास, प्रगतिशिल राष्ट्रवाद, स्थिर भ्रष्टाचार मुक्त सरकार निमार्ण लगायतका बुँदा समेटिने बताए । अर्को एक फरक प्रसंगमा सापकोटाले बर्दियामा भारतीय प्रहरीले नेपालीको घरमा छापा मारेको र जर्मन राजदूतले तनहुँ पुगेर कसलाई भोट दिने र कसलाई नदिने भनी अर्ति दिएकोप्रति आपत्ति जनाए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us