एनआरएन मध्यपूर्व संयोजकमा अमृत गुरुङको उम्मेदवारी घोषणा

काठमाण्डु टुडे २०७० असोज ४ गते १६:५० मा प्रकाशित

amritदोहा–गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद (एनआरएनए—आइसीसी) को मध्यपूर्व संयोजक पदमा कतारबाट अमृत गुरुङले उम्मेदवारी घोषणा गरेका छन । 

कतारको दोहामा आयोजित कार्यक्रममा एनआरएन कतारका निवर्तमान अध्यक्ष गुरुङले उम्मेदवारी घोषणा गरेका हुन । एनआरएनएको छैंटौ विश्व सम्मेलन आगामी अक्टोबर १९ देखि २२ तारिखसम्म काठमाण्डुमा हुँदैछ ।

गुरुङले खाडी क्षेत्रका गैरआवासीय नेपालीहरुको समस्या समाधान गर्दै एनआरएनको अभियानलाई अझ शसक्त, सबल, सुदृढ र संस्थागत विकासका लागि मध्यपूर्व संयोजक पदमा उम्मेदवारी दिन लागेको बताए । ‘संस्थाको भावनाको उचित सम्मान गर्न र मध्यपुर्व क्षेत्रमा रहेका नेपालीहरुको हकहितको लागि काम गर्न राष्ट्रिय समन्वय परिषदहरुलाई क्रियाशिल बनाउन मैले नेतृत्व लिनुपर्छ भन्ने ठानेको छु’ गुरुङको घोषणापत्रमा उल्लेख छ ।
मध्यपूर्वमा कार्यरत नेपालीहरुको समस्याहरु जटिल प्रकृतिको रहेको भन्दै गुरुङले नेपाल सरकार र सम्बन्धित निकायमार्फत त्यस्ता समस्याहरु समाधानको लागि आवश्यक पहल गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us