सरकारद्वारा पेट्रोलियमको मूल्यवृद्धि फिर्ता लिन अस्वीकार

काठमाण्डु टुडे २०७० असोज ४ गते १७:०५ मा प्रकाशित

काठमाण्डु, ४ असोज– सरकारले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता लिन अस्वीकार गरेको छ ।

oil nigamमूल्यवृद्धि फिर्ताको माग गर्दै आन्दोलनरत विद्यार्थी संगठनहरुसँग समस्या समाधानको प्रयासमा शुक्रबार भएको वार्तामा सरकार मूल्यवृद्धि फिर्ता लिन तयार नभएको हो । मूल्यवृद्धि फिर्ता नलिने सरकारको अडान र फिर्ता गराएरै छाड्न विद्यार्थी संगठनहरुको अडानका कारण दुई चरणमा भएको वार्ता बिनानिष्कर्ष सकिएको छ । वार्ता असफल भएपछि आफूहरु थप आन्दोलनका कार्यक्रम तय गर्ने तयारीमा जुटेको नेविसंघ प्रवक्ता युपी लामिछानेले काठमाण्डु टुडेलाई जानकारी दिए । सरकारी पक्ष बिनातयारी वार्तामा आएकाले सहमतिमा पुग्न नसकिएको टिप्णी उनले गरे ।

वार्तामा सहभागी अखिल क्रान्तिकारीका सचिव रञ्जित तामाङले सरकारी पक्षले अन्य सरोकारवाला मन्त्रालयका प्रतिनिधिसमेतको उपस्थितिमा आइतबार पुन: वार्तामा बस्न आग्रह गरेको र त्यसबारे विद्यार्थी संगठनहरुका बीचमा छलफल गरेर निष्कर्षमा पुगिने बताए । उनले वार्ता वा आन्दोलनमा जाने भन्नेबारे छलफल गर्न आन्दोलनरत १७ विद्यार्थी संगठनको बैठक शनिबार बस्ने जानकारी दिए ।

सरकारी वार्ता टोली विकल्पविहीन ढंगले आएकाले विद्यार्थीलाई अल्मल्याउने चाल भइरहेको आशंका आफूहरुलाई भएको तामाङको भनाइ छ । अन्तर्राष्ट्रिय बजारमा आएको उतारचढावलाई कारण देखाउँदै आयल निगम सञ्चालक समिति बैठकले पेट्रोलमा प्रतिलिटर ५ तथा डिजेल र मट्टितेलमा ३/३ रुपैयाँका दरले मूल्यवृद्धि गरेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us