मायाकुमारीलाई कतारको राजदूतबाट फिर्ता हुन प्रचण्डको सुझाव

काठमाण्डु टुडे २०७० असोज ४ गते १३:१४ मा प्रकाशित

mayaकाठमाण्डु ४ असोज–एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कतारका लागि नेपाली राजदूत मायाकुमारी शर्मालाई राजीनामा दिएर स्वदेश फर्कन सुझाव दिएका छन् ।
शर्माका बारेमा कतारमा रहेका नेपालीहरुले नै बढी गुनासो गरेपछि अध्यक्ष प्रचण्डले शुक्रबार टेलिफोन गरी राजीनामा दिएर स्वदेश फर्कन सुझाव दिएका हुन । एकीकृत माओवादीका शीर्ष नेताहरु आफनो कोटामा राजदूत बनाइएकी शर्मालाई फिर्ता बोलाउनु उपयुक्त हुने निष्कर्षमा पुगेपछि प्रचण्डले फोन गरेर फिर्ता हुन सुझाव दिएको उच्चस्रोतले जनाएको छ । एकीकृत माओवादीका शीर्ष नेताहरुबीच शर्माका बारेमा शुक्रबार बिहान छलफल भएको थियो । आफनो पार्टीको कोटामा राजदूत बनेकी शर्माले नेपाल–कतार सम्बन्ध बवकास र नेपाली श्रमिकहरुको हितमा काम गर्न नसकेको पाएपछि सो पार्टी शर्मालाई फिर्ता बोलाउने निष्कर्षमा पुगेको हो ।
शर्मालाई सरकारले पनि फिर्ता बोलाउने तयारी गरेको थियो । अध्यक्ष प्रचण्ड स्वंयमले शर्मालाई टेलिफोन गरी फिर्ता हुन सुझाव दिएपछि सरकारलाई पनि सजिलो भएको छ । नेपालका लागि कतारी राजदूत अहमद जासेम अल हमरले गत मंगलबार गृहमन्त्रालयको समेत जिम्मेवारी सम्हालेका परराष्ट्रमन्त्री माधवप्रसाद घिमिरेलाई भेटेर शर्मालाई फिर्ता बोलाई नेपाल कतार सम्बन्धलाई सुमधुर बनाइराख्न लिखित आग्रह गरेका थिए ।

राजदूत शर्माले एक टेलिभिजन अन्तर्वार्ताका क्रममा कतार नेपालीहरुका लागि खुला जेल भएको विवादास्पद अभिव्यक्ति दिएकी थिइन् । कुटनीतिक सीमा नाघेर जथाभावी बोलेको भन्दै उनको अभिव्यक्तिको नेपाल र कतारमा समेत चर्को विरोध भएको थियो । उनलाइ हटाउन नेपालस्थित कतारी दूतावासले पनि  परराष्ट्र मन्त्रालयमा शर्मालाइ राजदूतबाट हटाउन माग गर्दै लिखित पत्र दिएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us