वेल्जियमबाट १५ जना नेपाली फरार

काठमाण्डु टुडे २०७० असोज ९ गते १५:०० मा प्रकाशित

ब्रसेल्स ४ असोज–बेल्जियमको गेन्ट शहरमा आयोजित फ्लान्दर्स अन्तराष्ट्रिय मेलामा सहभागी हुन पुगेका १५ जना नेपाली ब्रसेल्सबाट फरार भएका छन । नेपाल उद्योग बाणिज्य महासंघको सिफारिसमा व्यापारीका रुपमा ब्रसेल्स आइपुगेका ती नेपाली फरार भएका हुन ।
फरार हुने मध्ये एक जनाले काठमाण्डु टुडेलाई दिएको जानकारी अनुसार ब्रसेल्स आउन उनीहरुले १५ लाख रुपैया तिरेका छन । तर उनले सो रकम कसलाई दिएका भन्ने खुलाउन चाहेनन् । फरार भएका मध्ये कतिपय स्पेन,पोर्चुगल र फ्रान्स पुगिसकेका छन भने कतिपय बेल्जियममै छन ।
नेपाल–बेल्जियम दौत्य सम्बन्ध कायम भएको ५० बर्ष भएको अवसरमा आयोजित मेलामा एक हजार ४८ वर्गमिटरमा फैलिएको नेपाल पेभेलियनमा ३३ वटा नेपाली स्टलहरु राखिएका थिए । अर्थमन्त्री शंकर कोइराला,वेल्जियमका राजाका प्रतिनिधि,वेल्जियमका उपप्रधानमन्त्री पिटर डे क्रिम,पूर्वी फ्लान्दर्स प्रान्तका उपप्रमुख,वेल्जियमस्थित नेपाली राजदुत रामणि पोखरेल,नेपाल उद्योग बाणिज्य महासंघका पूर्व अध्यक्ष कुशकुमार जोशीसहित करीव सात सय बिशिष्ट व्यक्तिहरु मेलाको उदघाटन समारोहमा सहभागी थिए । सो अवसरमा वेल्जियमका राष्ट्रिय टेलिभिजनहरुमा नेपालसम्बन्धी बृत्तचित्र प्रसारण गरिएका थिए । १४ सेप्टेम्बरमा शुरु भएको मेला आइतवार समापन हुदैछ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us