
काठमाण्डु, ४ असोज –आकांक्षी धेरै भएर उम्मेदवार छनौट गर्न नसकेको नेकपा एमालेले चुनावको प्रचार प्रसारको रणनीति बनाउदै छ । रणनीति बनाउन केन्द्रीय प्रचार विभागले शुक्रबार प्रचार भेला आयोजना गरेको छ ।
‘भेलाले व्यवस्थित र प्रभावकारी रणनीति बनाउँछ,’ एमाले प्रचार विभाग प्रमुख प्रदीप ज्ञवालीले भने । पार्टी कार्यालय बल्खुमा आयोजित भेलामा देशभरका पार्टी निकट पत्रकारहरु सहभागी छन् । उनीहरुलाई अध्यक्ष झलनाथ खनाल, बरिष्ठ नेता माधव कुमार नेपाल, स्थायी समिति सदस्य केपी शर्मा ओलीलगायतले प्रशिक्षण दिने कार्यक्रम छ ।
एमालेले चुनावको प्रचारकालागि फेसबुक, ट्वीटर जस्ता सामाजिक सन्जालहरुलाई अधिकतम प्रयोग गर्ने बताइएको छ ।
राजधानी दैनिकका प्रकाशक शेरचन एमाले प्रवेश
यसैबीच राजधानी दैनिकका प्रकाशक महेन्द्र शेरचन एमालेमा प्रवेश गरेका छन् । पार्टी मुख्यालय बल्खुमा आयोजित राष्ट्रिय प्रचार भेलामा शेरचनलाई पार्टी अध्यक्ष झलनाथ खनालले एमाले प्रवेश गराएका हुन् । शेरचनले सन्चार क्षेत्रसँगसँगै सकृय राजनीति पनि गर्ने बताए ।