एमाओवादी उम्मेदवार छान्दै,प्रवेश गर्दै रामराजाका छोरा

काठमाण्डु टुडे २०७० असोज ४ गते २:०६ मा प्रकाशित

UCPN-Maoistकाठमाण्डु, ४ असोज – आगामी संविधानसभा चुनावका उम्मेदवार छान्न एकीकृत माओवादीले गृहकार्य जारी राखेको छ । उम्मेदवार छनौटबारे छलफल गर्न शुक्रबार विहान केहीबेर बसेको केन्द्रीय कार्यालय बैठक दिउँसो ३ बजेसम्मकालागि स्थगित भएको छ ।

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवास लाजिम्पाटमा विहान बसेको बैठकमा उम्मेदवारहरुको नामावलीलाई अन्तिम रुप दिनेबारे छलफल भएको थियो । ‘बिभिन्न जिल्लाबाट सिफारिस भएर केन्द्रमा आएका नामावलीलाई अन्तिम रुप दिने गृहकार्य भैरहेको छ,’ प्रवक्ता अग्नी सापकोटाले भने । एकीकृत नेकपा माओवादीमा स्थानीय स्तरबाट झण्डै तीन हजार नामावली सिफारिस भएको छ ।

बैठकमा पार्टीको घोषणापत्र निर्माण र चुनावमा कार्यकर्ताको परिचालनबारे पनि छलफल हुने बताइएको छ ।

नवजनवादी मोर्चा एमाओवादीमा समाहित हुने

यसैबीच स्वर्गीय रामराजा प्रसाद सिंहको पार्टी नवजनवादी मोर्चा एकीकृत माओवादीमा समाहित हुने भएको छ । स्वर्गीय सिंहका पुत्र तथा नवजनवादी मोर्चाका कार्यवाहक अध्यक्ष डा. मनोजप्रसाद सिंह, महासचिव शंकर श्रेष्ठ  र प्रवक्ता प्रकाश शर्मा एकीकृत माओवादी प्रवेश गर्न लागेका हुन् ।

उनीहरुलाई पार्टी मुख्यालय कोटेश्वर पेरिसडाँडामा शुक्रबार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी प्रवेश गराउने कार्यक्रम रहेको एमाओवादी नेता राम कार्कीले जानकारी दिए । स्वर्गीय सिंहलाई एकीकृत माओवादीले गणतन्त्र नेपालको पहिलो राष्ट्रपतीय निर्वाचनमा उम्मेदवार बनाएको थियो । नवजनवादी मोर्चाका संस्थापक तथा पूर्वमन्त्रीसमेत रहेका काँग्रेंस नेता खेमराज भट्ट मायालु यसअघि एकीकृत माओवादी प्रवेश गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us