राष्ट्रपति–मन्त्रिपरिषद अध्यक्ष भेट,सेना परिचालनबारे छलफल

काठमाण्डु टुडे २०७० असोज ३ गते ५:३० मा प्रकाशित

Ramabaran-and-Khilrajकाठमाण्डु, ३ असोज – सरकारले मंसिर चार गते हुने दोस्रो संविधानसभा चुनावमा सेना परिचालन गर्ने बिषयमा राष्ट्रपतिलाई औपचारिक जानकारी गराएको छ । मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मीले विहीबार विहान राष्ट्रपति रामवरण यादवलाई भेटेर सेना परिचालन गर्ने तयारीबारे जानकारी गराएका हुन् । राष्ट्रपतिलाई भेट्न रेग्मी शितल निवास पुगेका थिए । ‘आगामी चुनावमा सेना परिचालन गर्ने तयारीबारे रेग्मीले जानकारी गराएको,’ राष्ट्रपतिका प्रेस सल्लाहकार राजेन्द्र दाहालले जानकारी दिए ।

अन्तरिम संविधानमा नेपाली सेनाका परमाधिपति राष्ट्रपतिको सल्लाह र सहमतिमा नेपाली सेनाको परिचालन व्यवस्थापन र नियन्त्रण गरिने उल्लेख छ । राष्ट्रिय सुरक्षा परिषद्को मंगलबार बसेको बैठकले चुनावको सुरक्षाकालागि सेना परिचालन गर्न सरकारलाई सुझाव दिएको थियो । राष्ट्रपतिको अनुमतिमा मन्त्रिपरिषद बैठकबाट सेना परिचालनको निर्णयलाई आपचारिकता दिनुपर्ने हुन्छ ।

अघिल्लो संविधानसभा चुनावमा समेत सेना परिचालन गरिएको थिएन । त्यतिबेला शान्ति प्रक्रिया जारी रहेकाले राष्ट्रिय सेना र माओवादी सेना विस्तृत शान्ति सम्झौता अनुरुप व्यारेकमा बसेका थिए । उच्चस्तरीय राजनीतिक समिति र नेकपा–माओवादीबीचको वार्ता विफल भएपछि सरकारले चुनावको सुरक्षा संवेदनशीलतालाई ध्यान दिदै सेना परिचालन गर्न लागेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us