चारपाङ्ग्रे सवारीको लाइसेन्स परीक्षा स्थगित

काठमाण्डु टुडे २०७० असोज ३ गते ४:२९ मा प्रकाशित

ललितपुर, ३ असोज – यातायात व्यवस्था विभागले केही समयका लागि चारपाँङ्ग्रे सवारीको लाइसेन्स ट्रायल परीक्षा रोकेको छ । पुतलीसडकस्थित नेसनल ट्रेडिङको प्राङ्गणमा दसैंको सुपथ मूल्य बजार सुरु भएको कारण जनाउँदै विभागले चारपाङ्ग्रे सवारीको ट्रायल परीक्षा रोकेको हो ।

‘सँधै ट्रायल लिने प्राङ्गणमा टेन्ट लगाएर सुपथ पसल खोलिएको छ । अरू ठाउँमा ले–आउट बनाउनै गाह्रो भएकाले ट्रायल परीक्षा रोकेका हौं,’ यातायात व्यवस्था विभागका महानिर्देशक सुदर्शन ढकालले बताए ।

यातायात व्यवस्था विभागले पहिलेको चारपाङ्ग्रे सवारीको ‘टी’ आकारको सेट र मोटरसाइकललगायत दुई पाङ्ग्रेको ‘नागबेली’ आकारमा ट्रायल परीक्षा लिने गरेको थियो । तर, गएको वैशाखदेखि दुवैलाई ‘अङ्ग्रेजी आठ’ बक्र घुमाइ, उकालो बाटो र क्रस रोडसमेतको ट्रायल गराउन थालेपछि काठमाण्डुमा मात्र गर्न ट्रायल परीक्षा लिने गरिएको छ ।

विभागले अकस्मात ट्रायल परीक्षा रोकेका कारण टाढा–टाढाबाट लाइसेन्स लिन आएका परीक्षार्थी मर्कामा परेका छन् । नयाँ ट्रायल परीक्षाका लागि पूर्वाधार नभएको भन्दै काठमाण्डु उपत्यका बाहिरका १२ अञ्चलमा लाइसेन्स परीक्षाका लागि लिखित परीक्षा र ट्रायल परीक्षा रोकिएको छ । कर्णाली अञ्चलमा भने यातायात व्यवस्था कार्यालय नै छैन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us