मनोनयन दर्ताको समय सात दिन सार्ने तयारी

काठमाण्डु टुडे २०७० असोज ३ गते ४:४४ मा प्रकाशित

election_commissionकाठमाण्डु, ३ असोज–निर्वाचन आयोगले उम्मेद्वार मनोनयन दर्ताको समय एकसाता पछि सार्ने तयारी गरेको छ । सरकार र उच्चस्तरीय राजनीतिक समितिले प्रत्यक्ष र समानुपातिकको मनोनयन दर्ताको समय केही दिन पछि सार्न आयोगलाई आग्रह गरेका थिए ।

आग्रह अनुसार कति दिन पछि सार्ने भन्ने निर्णय लिन आयोग विहीबार आन्तरिक छलफलमा जुटेको छ । ‘बढिमा एक साताको समय पर सार्न सकिन्छ,’ आयोगका एक अधिकारीले काठमाण्डु टुडेसँग भने, ‘सम्भवतः आजै नभए भोली यसबारे निर्णय हुन्छ ।’

मन्त्रिपरिषदको बुधबारको बैठकले मंसिर ४ को चुनावलाई असर नपर्ने गरी प्रत्यक्ष तर्फको मनोनयन दर्ता र समानुपातिक तर्फको बन्दसूची पेश गर्ने कार्यतालिका फेर बदल गर्न आग्रह निर्वाचन आयोगलाई गरेको थियो । गत मंगलबार पनि उच्चस्तरीय राजनीतिक समितिका नेताहरुले आयोगका पदाधिकारीलाई भेटेर १० दिन पछि सार्न आग्रह गरेका थिए ।

निर्बाचन आयोगले सार्बजनिक गरेको कार्यतालिका अनुुसार समानुपातिकको उम्मेदवारका लागि आगामी ७ गते र प्रत्यक्ष तर्फकोलागि १० गते उम्मेदवारी मनोनयन दर्ताको मिति तोकिएको छ । प्रत्यक्ष तर्फको उम्मेदवारी दर्तालाई प्रभावित पार्ने गरी चुनावी प्रक्रियाप्रति असन्तुष्ट नेकपा–माओवादी नेतृत्वको मोर्चाले बन्द घोषणा गरेकाले केही समय पछि सार्न आग्रह गरिएको स्रोतले जनाएको छ ।

म्यादी प्रहरी भर्ना शुरु
निर्वाचन सुरक्षाका लागि ४५ हजार म्यादी प्रहरी भर्ना प्रकृया विहीबारबाट शुरु भएको छ । १४ ओटै अञ्चल प्रहरी कार्यालयमा भर्नाकालागि आवेदन दिन सकिने छ ।

प्रहरी प्रवक्ता नवराज सिलवालले दुई साताभित्र छनौट प्रकृया शुरु गरी तालिम दिइने जानकारी दिए । म्यादी प्रहरीमा आवेदन दर्ताका लागि भुतपूर्व प्रहरी तथा सुरक्षा क्षेत्रमा कार्यरतलाई विशेष प्राथमिकता दिइने छ । ७५ वटै जिल्लामा खटाईने म्यादी प्रहरीको समय अवधी निर्वाचन सकिएको एकसातासम्म रहने छ ।

म्यादी प्रहरीमा विभिन्न राजनीतिक दलका कार्यकर्ताको घुसपैठ हुन सक्ने भन्दै निर्वाचन सुरक्षा जिम्मा सेनालाई दिने सरकारले निर्णय गरिसकेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us