अनेरास्ववियुको नेतृत्वमा चारजनाको दावी

काठमाण्डु टुडे २०७० असोज ३ गते ६:३० मा प्रकाशित

Annfsuकाठमाण्डु, ३ असोज – नेकपा एमालेको विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)को नयाँ नेतृत्वमा चारजनाले दावी गरेका छन् । दुई बर्षे कार्यकालकालागि निवर्तमान उपाध्यक्षहरु नवीना लामा, लक्ष्मण लम्साल र भीम राई तथा महासचिव किशोरविक्रम मल्लले अध्यक्ष पदमा दावी गरेका हुन् ।

लामाले लम्साललाई र राईले मल्ललाई सहयोग गर्ने गरी अध्यक्षमा दुईजनाको मात्रै मनोनयन दर्ताको प्रयास भैरहेको छ । लामालाई बरिष्ठ उपाध्यक्ष वा संविधानसभामा समानुपातिक तर्फको सभासद पद दिएर फकाउने प्रयास भैरहेको छ । यद्यपी बुधबार रातीसम्म गरिएको सहमतिको प्रयास सफल भएको छैन ।

कलाई कस्को साथ ?

लामालाई एमाले अध्यक्ष झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतमले साथ दिएका छन् । लामाको पक्षमा सहमति जुटाउन नेताहरु सुरेन्द्र पाण्डे, योगेश भट्टराई, रविन्द्र अधिकारी, ठाकुर गैरे, रामकुमारी झाँक्री लगायतको टोलीले प्रयास जारी राखेको छ । यसैगरी मल्लको टीमलाई बरिष्ठ नेताहरु माधव नेपाल, केपी ओली र महासचिव इश्वर पोख्रेलको समर्थन छ । मल्ललाई अध्यक्ष बनाउन भानुभक्त ढकाल, अरुण नेपाल, हिक्मत कार्की, राजेन्द्र राई, खिमलाल भट्टराई र निवर्तमान अध्यक्ष माधव ढुंगेलको टिम खटिएको छ । मल्ललाई भीम राई र नवराज पौडेलले पनि साथ दिएका छन् ।

मल्ल प्यानलबाट नवराज पौडेललाई बरिष्ठ उपाध्यक्ष तथा सीपी घर्ती, बचन सिंहलगायतलाई उपाध्यक्ष पद दिलाउने प्रयास जारी छ । लम्सालको प्यानलबाट भने निवर्तमान कोषाध्यक्ष दीपक गौतमलाई उपाध्यक्ष बनाउने गरी लविङ भैरहेको छ ।

महासचिव पदमा भने निवर्तमान सचिव रचना खड्काको सम्भावना बलियो छ । यद्यपी निवर्तमान सचिव सरोज यादवलाई उपाध्यक्ष पद दिएर थोमस बास्तोलालाई महसचिव बनाउन लम्साल पक्षको टिमले प्रयास गरेको छ ।

सचिव पदमा लामा प्यानलका राधिका खतिवडा, भक्तकुमारी लामा, कमला बोहरा र केशव आचार्यले दावी गरेका छन् । यसैगरी मल्ल प्यानलबाट रश्मी आचार्य, महेश बर्तौला, दीपा शर्मा, सुनिता बराल लगायतले पनि सचिव पदमा दावी गरेका छन् ।

यसैगरी सचिवालयमा लम्साल प्यानलका लोकेश निरौला, दिनेश आचार्य, सन्तोष खड्का, श्याम बजगाईं लगायतले दावी गरेका छन् । यसैगरी मल्ल प्यानलबाट तुलसीराम मैनाली, अशेष घिमिरे, छवि चुडाल लगायतले सचिवालयमा दावी गरेका छन् ।

अनेरास्ववियुको २१ औं राष्ट्रिय महाधिवेशन विहीबारदेखि काठमाण्डुमा शुरु हुँदैछ । महाधिवेशनले ११ सदस्यीय सचिवालय सहित १ सय ३५ सदस्यीय केन्द्रीय कमिटी चयन गर्नेछ । वाल्मिकी विद्यापीठमा हुने महाधिवेशनको उदघाटन नेकपा एमाले अध्यक्ष झलनाथ खनालले दिउँसो गर्नेछन् । एमाले वरिष्ठ नेता माधवकुमार नेपाल, केपी ओली लगायतका नेता तथा अखिलका पूर्वनेताहरुले उदघाटन शत्रलाई सम्वोधन गर्नेछन् । ३ दिनसम्म चल्ने महाधिवेशनमा १ हजार ४ सय ३७ प्रतिनिधि सहभागी हुनेछन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us