पूर्वजानकारी नदिइ नेपाल छिर्ने भारतीय प्रहरीले माफी मागे

काठमाण्डु टुडे २०७० असोज ३ गते ६:३२ मा प्रकाशित

prahariकाठमाण्डु, ३ असोज – समन्वय विना बर्दिया छिरेर नेपालीको घरमा छापा मार्ने भारतीय प्रहरीले गल्ती भएको स्वीकार्दै माफी मागेका छन् । जिल्ला प्रहरी कार्यालय गुलरियामा उनीहरुले टेलिफोन गरी आगामी दिनमा गल्ती नदोहोर्याउने प्रतिबद्धतासमेत जनाएका छन् ।

जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रमुख प्रहरी नायब उपरीक्षक राजेन्द्र प्रसाद धमलाले भारतीय लखिनपुर प्रहरी चौकीका प्रमुखले आफूलाई टेलिफोन गरी गल्ती स्वीकारेको जानकारी दिए । ‘हामीलाई कानुनी व्यवस्थाबारे राम्रोसँग जानकारी भएन,’ भारतीय लखिनपुर प्रहरी चौकीका एसपीको भनाई उद्धृत गर्दै धमलाले भने, ‘उहाँहरुले गल्ती महसुस गरी ‘एक्सक्युज’ माग्नु भएको छ ।’

धमलाको कुरा भने पत्याइहाल्ने अवस्था छैन । एसपी जस्तो जिम्मेवार पदमा रहेको व्यक्तिलाई अर्काको देशमा विना अनुमति छापा मार्न हुँदैन भन्ने कुरा थाहा थिएन भन्नु हास्यास्पद छ । यसलाई भारतीय पक्षको दादागिरी र गैरजिम्मेवारीको रुपमा बुझ्न सकिन्छ । तर धमलाले यसलाईभारतीय प्रहरीको अनभिज्ञताको रुपमा ब्याख्या गरे । उनले भने, ‘दादागिरी भनौं भने, उनीहरुसँग हतियार थिएन । उनीहरुको अनभिज्ञताको कारण नै यस्तो भएको हो ।’
सुरक्षा कमजोरी स्वीकार
धमलाले सीमा क्षेत्रमा भारतीय सुरक्षाकर्मीलाई रोक्न नसक्नु आफूहरुको कमजोरी रहेको स्वीकार समेत गरे । उनले सीमा क्षेत्रको नेपाल प्रहरीको टोलीले भारतीय प्रहरीको टोली नेपाल प्रवेश गरेकोबारे जिल्ला सदरमुकाममा खबरसमेत नगरेको बताए । ‘यसबारे अनुसन्धान भैरहेको छ,’ धमलाले भने, ‘नेपाली सीमा प्रहरी चौकीले हामीलाई किन जानकारी दिएन । यसले हाम्रो सुरक्षा कमजोरीको रुपमा हामीले लिएका छौं ।’

नेपाल प्रहरीलाई जानकारी नै नगराई बुधबार विहान उदय प्रताप सिंह नेतृत्वको भारतीय प्रहरी टोलीले गुलरिया ८ स्थित मञ्जुलकुमार श्रेष्ठको घरमा छापा मारेको थियो । स्थानीयले खबर गरेपछि मात्रै भारतीय सुरक्षाकर्मी गाडी सहित सदरमुकाम आएको कुरा बर्दिया प्रहरीले थाहा पाएको थियो । उनीहरुलाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा भारतीय प्रहरीको हत्या अभियोगमा फरार रहेका मोना सरदारको खोजीमा आफूहरु नेपाल छिरेको बताएका थिए । नेपाल प्रहरीको टोलीले उनीहरुलाई केहीबेर नियन्त्रणमा लिएर सीमा क्षेत्रसम्म लगेर भारत फर्काएको थियो ।

घटना सम्वेदनशील भए पनि सरकारले यसबारे अझैसम्म मुख खोल्ने आँट गरेको छैन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us