निर्वाचन कार्यतालिका फेर्न आयोगलाई दबाब

काठमाण्डु टुडे २०७० असोज २ गते १६:३० मा प्रकाशित

काठमाण्डु, २ असोज–सरकारले आगामी मंसिर ४ गतेका लागि घोषित संविधानसभा चुनाव प्रभावित नहुने गरी उम्मेदवारी दर्ताको समय केही दिन पछि सार्न निर्वाचन आयोगलाई आग्रह गरेको छ ।

election_commissionमन्त्रिपरिषदको बुधबार बसेको बैठकले समानुपातिक र प्रत्यक्षतर्फको उम्मेद्वारी दर्ता गर्ने समय केही दिन पर सार्न आयोगलाई आग्रह गरेको हो । यसअघि म‌गलबार उच्चस्तरीय राजनीतिक समितिमा रहेका दलका शीर्ष नेताहरुले पनि आयोगका पदाधिकारीलाई भेटेर मनोनयन दर्ताको समय १० दिन पछि सार्न आग्रह गरेका थिए ।

निर्वाचन आयोगले सार्वजनिक गरेको निर्वाचन कार्यतालिका अनुसार समानुपातिकको उम्मेद्वारका लागि आगामी असोज ७ गते र प्रत्यक्ष तर्फका लागि १० गते उम्मेद्वारी मनोनयन दर्ताको मिति तोकिएको छ ।

प्रत्यक्षतर्फको उम्मेदवारी दर्तालाई प्रभावित पार्ने गरी चुनावी प्रक्रियाप्रति असहमत नेकपा–माओवादी नेतृत्वको मोर्चाले आन्दोलन घोषाणा गरेकाले केही समय पछि सार्न आग्रह गरिएको स्रोतले जनाएको छ ।
यसअघि बुधबार बिहान मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मी र प्रमुख निर्वाचन आयुक्त नीकलकण्ठ उप्रेती लगायतका पदाधिकारीसँग पनि यसबारे छलफल भएको थियो । छलफलमा मंसिर चार गते नै दोस्रो संविधानसभा चुनाव सम्पन्न गर्न तयारी तीव्र पार्ने निर्णय भएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us