कुनै हालतमा चुनाव सर्दैन: प्रचण्ड

काठमाण्डु टुडे २०७० असोज २ गते ७:१० मा प्रकाशित

सिन्धुली, २ असोज – एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’  ४ मसिरमा घोषित संविधानसभा निर्वाचन कुनै हालतमा नसर्ने दोहोर्‍याएका छन् ।
prachandaक्रान्तिकारी पत्रकार संघले सिन्धुली सदरमुकाममा बुधबार गरेको पत्रकार सम्मेलनमा उनले कसैले चाहना राख्दैमा निर्वाचन सर्न नसक्ने बताए । सरकार र निर्वाचन आयोगले तयारी अन्तिम चरणमा पुर्‍याएको र मुख्य दलहरु समेत निर्वाचनमा होमिसकेकाले ४ मंसिरको निर्वाचनबाट कोही पछि हट्न नमिल्ने उनको भनाइ थियो । ‘सिंगो देश निर्वाचनमा होमिसकेको छ’, प्रचण्डले भने, ‘कसैले चाहना राख्दैमा निर्वाचन सर्दैन ।’ उनले मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीसँग सहमति प्रयासमा छलफल भइरहेकाले वैद्य माओवादी पनि निर्वाचनमा आउने दाबी गरे ।

असन्तुष्ट दललाई सहमतिमा ल्याउने प्रयासका लागि नै आफूहरुले निर्वाचन आयोगका पदाधिकारीलाई भेटी फोटोसहितको मतदाता नामावली र दल दर्ताको समय केही पर सार्न आग्रह गरिएको उनले बताए । प्रचण्डले वैद्य माओवादीसँग तत्काल पार्टी एकताको सम्भावना नरहे पनि चुनावी तालमेल गरेर जान सकिनेबारे कुराकानी भइरहेको खुलासा गरे । परिवर्तन संस्थागत गर्न निर्वाचन गर्न लागिएकाले आगामी संविधानसभा निर्वाचनमा परिवर्तन पक्षधर शक्तिलाई बहुमत दिन प्रचण्डले मतदातालाई अपलि गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us