चुनावको तयारीबारे सरकार र आयोगबीच छलफल

काठमाण्डु टुडे २०७० असोज २ गते ६:०३ मा प्रकाशित

Regi-Upretiकाठमाण्डु, २ असोज – सरकारले आगामी चुनावको तयारीबारे निर्बाचन आयोगका पदाधिकारीहरुबाट जानकारी लिएको छ । मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मीले प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीसहित आयोगका अन्य पदाधिकारीसँग आगामी मंसिर ४ गतेका लागि तोकिएको संविधानसभा चुनावको तयारीबारे जानकारी लिएका हुन् ।

रेग्मीको सरकारी निवास बालुवाटारमा बुधबार विहान निर्वाचनको तयारी र आवश्यक सुरक्षा प्रबन्धबारे छलफल भएको अध्यक्ष रेग्मीका प्रेस संयोजक राजेन्द्र पाण्डेले जानकारी दिए । तोकिएको मितिमा निर्वाचन सम्पन्न गर्ने सुनिश्चितता प्रदानका साथै निर्वाचनसम्बन्धी काम कारबाही र गतिविधिलाई तीव्रता दिने विषयमा छलफल थियो ।

आयोगका आयुक्त डा. रामभक्त पिभी ठाकुरले मंसिर चार मै चुनाव सम्पन्न गर्न आफूहरु तयार रहेकोबारे रेग्मीलाई जानकारी गराएको बताए । ठाकुरका अनुसार आयोग पदाधिकारीले रेग्मीलाई शान्ति सुरक्षाको उचित प्रवन्ध मिलाउन सुझाव दिएका थिए । तोकिएकै मितिमा निष्पक्ष र भयरहित चुनाव सम्पन्न गर्न सरकार, राजनीतिक दल लगायत सबै पक्षले सहयोग गर्नुपर्ने आयोगको जोड थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us