काँग्रेसले युवा जमातबाट उम्मेदवार छान्ने

काठमाण्डु टुडे २०७० असोज २ गते ३:४६ मा प्रकाशित

NC-Flagकाठमाण्डु, २ असोज । नेपाली काँग्रेसका महामन्त्री प्रकाशमान सिंहले आगामी निर्बाचनकालागि युवा जमातबाट उम्मेदवार छनौट गर्ने बताएका छन् ।

गणेशमान सिंहको १७ औं स्मृति दिवसको अवसरमा शोभा भगवतीमा बुधबार विहान आयोजित कार्यक्रममा उनले भने, ‘जनआन्दोलन र पार्टीमा योगदान गरेको, जनआधार भएको र युवा जमातबाट काँग्रेसले उम्मेदवार छान्छ ।’ सबै जिल्लाबाट उम्मेदवारको सिफारिस आएको र निश्चित मापदण्ड बनाएर उम्मेदवार टुङ्गो लगाइने उनको भनाई थियो ।

उनले देशलाई संक्रमणकालबाट निकास दिन मंसिर ४ को निर्वाचन अपरिहार्य रहेको भन्दै कसैले बहिष्कार गर्दैमा चुनाव नरोकिने बताए । उनले वार्तामा उच्चस्तरीय राजनीतिक समितिले हदैसम्म लचकता अपनाएको भन्दै अब माओवादीलाई कुर्न नसकिने स्पष्ट पारे ।

गणेशमान सिंह फाउण्डेसनले विहान शोभा भगवतीस्थित शालिकमा माल्यार्पण कार्यक्रम गरेको थियो । कार्यक्रममा काँग्रेस महामन्त्री एवं गणेशमान पुत्र सिंह सहित नविन्द्र राज जोशी, भिसेनदास प्रधानलगायत नेता–कार्यकर्ता सहभागी थिए ।

स्मृति दिवसका अवसरमा नेपाल विद्यार्थी संघले राष्ट्रिय सभा गृहमा पार्टी सभापति सुशील कोइरालाको प्रमुख आतिथ्यमा स्मृति सभा तथा पशुपतिस्थित वृद्धा आश्रममा फलफूल वितरण कार्यक्रम आयोजना गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us